शनिबार, वैशाख १३, २०८२

ढाड कम्मर दुख्दा गर्नुपर्ने योगासन !

डा. हेमराज कोइराला २०७८ पुष १ गते ८:५६

जीवनको कनै न कुनै कालखण्डमा ढाड-कम्मर दुख्ने समस्याले तपाई हामी जो कोही पनि ग्रसित भएको हुनु पर्दछ । ढाड-कम्मर दुख्ने समस्या एक आमसमस्या भए पनि यसको कारण अनेक हुन सक्छन् । ती कारणहरूमध्ये केही सामान्य एवं आम कारणहरू छन् भने केही कारण यदाकदा देखा पर्ने एवं विरलै घटित हुने कारण छन् । आम कारणमा मांशपेशीहरूको जकडन, इन्टर-भर्टेब्रल-डिक्सको चोटपटक, बल्ज, ढाडको हड्डी खिइने रोग, नसा च्यापिने रोग, साइटिका, स्पाइनल क्यानल साँघुरिने रोग, अष्टियो पोरोसिस, ढाड बांगिने जस्ता रोगहरू पर्छन् । विरल कारणहरूमा ढाडको संक्रमण, कम्मरको हड्डीको टीबी एङ्ककोलाइजिङ स्पोन्डाइलाइटिस, क्यान्सर आदि पर्छन् । ढाड-कम्मर दुख्ने समस्याको धेरै जस्तो अवस्थामा योग चिकित्साको विशेष भूमिका हुन्छ । त्यसमा पनि निम्नलिखित योग आसनहरूको अभ्यासले ढाड-कम्मरको दुखाइबाट छुटकारा पाउन विशेष महत्त्व छ ।

वीरभद्रासन :
संस्कृत भाषामा युद्ध लड्ने योद्धालाई वीरभद्र भन्ने गरिन्छ । यो आसनको अन्तिम अवस्थामा हाम्रो शरीरले युद्ध लड्ने योद्धाको शरीर स्थिति बनाउने हुँदा यस अवस्थालाई वीरभद्रासन भनिएको हो ।
वीरभद्रासन आसन गर्ने तरिका :
क) यो आसन गर्न सर्वप्रथम जमिनमा चटाई वा योगा-म्याट ओछ्याउनुहोस् ।
ख) यो उभिएर गर्ने आसन भएकाले चटाइको अघिल्लो भाग माथि उभिनुहोस् । दुवै खुट्टालाई आपसमा जोड्नुहोस् र हातहरूलाई पनि शरीरसँग टाँस्नुहोस् ।
ग) अब लामो-गहिरो श्वास लिँदै देव्रे खुट्टालाई ३/४ फिट पछाडि राख्नुहोस् ।
घ) अब बायाँ पैतालालाई ४५ देखि ६० डिग्री बाहिरतर्फ मोड्नुहोस् । यसरी मोड्दा दुवै खुट्टाका कुर्कुच्चाहरु एउटै रेखामा परून् ।
ङ) अबै दुवै हातलाई आपसमा जोडेर चोर औंलालाई आकासतर्फ फर्काउँदै अन्य औंलाहरु आपसमा जोड्दै लामो गहिरो श्वास लिँदै शरीरलाई अधिकतम पछाडि मोड्ने कोसिस गर्नुहोस् यसरी मोड्दा पछाडिको खुट्टालाई सीधा राख्ने र अगाडिको खुट्टालाई ९० डिग्री मोड्नुहोस् र ढाडलाई अधिकतम पछाडि मोड्नुहोस् साथै हातलाई पनि सकेसम्म माथिपट्टि तन्काउनुहोस् ।
च) यस अवस्थामा केही समय अडिएपछि पुनः श्वास छाड्दै विस्तारै जसरी आसन लगाउनुभएको थियो सोही क्रममा खोल्दै आउनुस् । यो अभ्यासलाई २/३ पटक दोहोर्‍याउनुहोला ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया