धार्मिक पर्यटनको आस्थाको केन्द्र बन्दै देवघाट
तनहुँ । तनहुँ र चितवनको सिमानामा स्थित धार्मिक महत्वको तीर्थस्थल देवघाटधाममा दैनिक जसो धेरै धार्मिक पर्यटक पुग्ने गरेका छन् । यहाँ माघ र साउन महिनामा ठूलो सङ्ख्यामा दर्शनार्थी पुग्ने गर्र्छन् । विशेष चाडपर्व र तिथिका साथै पछिल्ला वर्षमा धार्मिक रुपमा मात्र नभई पर्यटकीय रुपमा समेत देवघाटधाम आकर्षक गन्तव्य बनेको छ ।
देवघाटधामको धार्मिक पर्यटकीय महत्वलाई उजागर गर्नका लागि स्थानीयवासी एवं सन्तहरु त निरन्तर लागेका छन् । पछिल्ला वर्षमा भने सरकारले पनि यहाँको विकासलाई चासो दिँदै आएको छ । कोरोना कहरले शिथिल पर्यटनलाई पुनरुत्थान गर्ने लक्ष्यका साथ गण्डकी प्रदेशमा पर्यटनसम्बद्ध सङ्घसंस्थाले पर्यटन प्रबर्धन कार्यक्रमलाई पनि प्राथमिकताका साथ अघि बढाएका छन् । देवघाटको धार्मिक पर्यटकीय महत्व उजागर गर्न नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको प्रबर्धन एवम् नेपाल पर्यटन यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशको आयोजनामा गत मङ्सिर अन्तिम साता यस क्षेत्रको प्रबर्धनात्मक भ्रमणसमेत गरिएको थियो । ऐतिहासिक एवम् धार्मिक महत्वको देवघाटधामलाई राज्यले पर्यटकीय रुपमासमेत उपयोग गर्न सक्ने नेपाल पर्यटन यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष बोबरजङ्ग गुरुङले बताएका छन्।
देवघाटधाम नेपालको अतिप्राचीन महत्वको धार्मिकस्थल हो । गलेश्वर बाबाले यहाँ आई तपस्या गरेपछि यसको प्राचीन एवं लौकिक महत्व बढ्न गएको हो । आन्तरिक पर्यटनलाई चलायमान बनाउन देवघाटधाम जस्ता धार्मिक पर्यटकीय गन्तव्यको प्रबर्धन र विकास अपरिहार्य छ । देवघाटमा माघे सङ्क्रान्ति, साउने सोमबार, बाला चतुर्दशीलगायत विभिन्न पर्वमा मेला लाग्ने गर्छ । देवघाटमा स्नान गरी शिवजीको उपासना गरेमा मोक्ष प्राप्त हुने जनविश्वास रहेको छ । नेपालको आदिप्रयाग तथा हरिहर क्षेत्र मानिने देवघाट अधिकांश मठमन्दिर शिव, विष्णु, एवं अन्य देवीदेवताका मन्दिरले सुसोभित छ ।
देवघाटधामलाई हिन्दू धर्मग्रन्थ तथा पुराणमा सबै तीर्थको श्रेष्ठ तथा अन्य तीर्थलाई पनि पवित्र पार्ने स्थलका रुपमा वर्णन गरिएको देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष डा गुरु प्रसाद सुवेदीले बताए । उनका अनुसार वराहपुराण र स्कन्दपुराण यहाँको महत्व उल्लेख छ । वराहपुराणमा यहाँ देवताहरू प्रातः कालमा स्नान गर्न आउने भएकाले यस क्षेत्रलाई देवाट् शब्दबाट अपभ्रंश भई देवघाट हुन गएको सुवेदीको तर्क छ।
देशका विभिन्न क्षेत्रका मानिस जीवनको उत्तरार्धमा देवघाट आएर कल्पवास बस्दै बाँकी जीवन बिताउने गरेको कल्पबास नजिकैका व्यवसायी बासुदेव पन्तले जानकारी दिए ।
धीरनबाबु घिमिरेका अनुसार स्कन्द पुराणमा परापूर्वकालमा समुद्रमन्थनका बेला दैत्य र देवताबीच अमृत प्राप्त गर्न भएको युद्धका क्रममा अमृतको थोपा खस्दा विनाशको आरम्भ हुन थाल्यो । समस्याको निवारणका लागि सबै देवीदेवता महादेवको शरणमा पुगे । त्यसपछि अमृतको थोपा खसेका ठाउँमा स्वयं महादेवले नै एउटा ज्योतिर्लिङ्गको आकार लिनुभयो र स्थापित हुनुभयो जुन देवघाटको सङ्गमस्थलमा छ ।
देवघाटधाममा गलेश्वर आश्रमको पश्चिमतर्फ कालीगण्डकी किनारमा वशिष्ठ ऋषिको गुफा छ । त्रेता युगमा अयोध्याका राजा रामचन्द्रका गुरु वशिष्ठले सो तपोभूमिमा तपस्या गरेको किंवदन्ती छ । यहाँ वशिष्ठको मूर्तिसमेत देख्न सकिन्छ । वशिष्ठ ऋषिको गुफाको अलिक तल सीता गुफा रहेको छ । राम बनवास बस्दा सीताको असली रूपलाई यहीँ लुकाएर राखिएको थियो भन्ने विश्वास छ । रामले सीतालाई त्यागेपछि सीता पृथ्वीमा विलय भएको गुफाका रुपमा समेत यसलाई चिनिएको छ ।
गलेश्वर आश्रम परिसरबाट पूर्वतर्फ प्राचीन र ऐतिहासिक चक्रेश्वर मन्दिर छ । यहाँ चक्रैचक्र भएको ठूलो शिला छ । पाल्पाका राजा मणिमुकुन्द सेनले यहीँ आएर तपस्या गरेका थिए । एक दिन स्नान गर्न जाँदा चक्रयुक्त शिला देखेर यहाँ ल्याएर स्थापना गरेकाले उहाँकै नामबाट मुकुन्देश्वर मन्दिर भनी नामकरण गरिएको समितिका निवर्तमान अध्यक्ष शिवराज पौडेलले बताए । मन्दिरका वरपर चार ठाउँमा अझै पनि मन्दिरका भग्नावशेष देखिन्छन् । यहाँ सूर्य, भैरव, गणेश र कालिकाको मन्दिर थिए भन्ने भनाई छ ।
चितवन र तनहुँतर्फको देवघाटधामलाई जोड्ने झोलुङ्गे पुलबाट पूर्वतर्फ केदारनाथको मन्दिर छ । सुन्दर फराकिलो सो मन्दिरको पहिलो तलामा शिव पाञ्चायन देवताका मूर्ति स्थापित छन् ।
देवघाट र नारायणगढको मध्यमार्गस्थित जङ्गलमा ऐतिहासिक बागीश्वरी मन्दिर छ । नारायणी नदीतर्फ फर्किएको बाघका दुई कलात्मक मूर्ति छन् । अन्य शिला मूर्ति भग्नावशेषका रूपमा छन् । मूर्तिको अध्ययन गर्दा पन्ध्रौँ शताब्दीतिरको भएको अनुसन्धानकर्ताको जिकिर छ ।
वैदिक सनातन धर्म र संस्कृतिको संरक्षण एवम् सम्बर्धन गर्न देवघाटमा डा स्वामी रामानन्द गिरि स्थापित महेश सन्न्यास आश्रम छ । आश्रममा नेपाल संस्कृत विश्वविद्यालयसँग अनुमति लिएर कक्षा ६ देखि स्नातकोत्तर तह आचार्यसम्म संस्कृत विषयको पठनपाठन हुने गरेको केशवानन्द स्वामीले बताए। यहाँबाट धेरै विद्यार्थीहरु दीक्षित भएका छन् ।
एक हजार भक्तजन अट्ने गरी निर्मित हरिहर सन्न्यास आश्रममा संस्कृतमा उच्च माध्यमिक तहसम्म अध्यापन हुँदै आएको ज्ञानान्द सरस्वतीले बताए । आवासीय सुविधासहित वटुकहरू यहाँ निःशुल्क अध्ययन गर्छन् ।
गलेश्वर आश्रममा ज्योतिर्लिङ्गेश्वर महादेवको मन्दिर छ । एक सय ५० रोपनी क्षेत्रफलमा फैलिएको आश्रममा भगवान् शिवको भव्य मन्दिर छ । सो मन्दिर हाल देवघाट आउने भक्तजनको आकर्षणको केन्द्र बनेको छ । गलेश्वर आश्रममा देशका विभिन्न स्थानबाट आउने भक्तजनलाई निशुल्क तीन छाक भोजन उपलब्ध गराउने गरेको आश्रमका सहयोगी महेन्द्र प्याकुरेलले जनाए ।
भक्तहरुको लागि धर्मशालाको व्यवस्था पनि आश्रमले दानदाता भक्तहरुको सहयोगमा उपलब्ध गराइरहेको स्वामी अद्वैतानन्द गिरिले बताए । गलेश्वर आश्रमबाट सञ्चालित वेद वेदाङ्ग विद्यालयमा माध्यमिक तहसम्म संस्कृतको अध्ययन हुँदै आएको र विद्यालयको आधुनिक भवन निर्माण भइरहेको आश्रमका अध्यक्ष स्वामी आत्मानन्द गिरिले जानकारी दिए ।
देवघाटधाममा रहेको अघोरी आश्रम अरुभन्दा पृथग् र आश्चर्यजनक छ । नदी तटमा अवस्थित आश्रमका संस्थापक पगलाबाबा हुन् भनिन्छ । उनले कुनै यज्ञमा आफ्नो औँला काटी चढाएको पनि किंवदन्ती रहेको स्वामी अमृतानन्दले जनाए । तामसिक बिचारधाराका अघोरीहरूले भुतप्रेतको साधना गरी उनीहरुलाई तान्त्रिक पद्धतिले खुशी बनाउने कुरा नौलो होइन ।
संसारकै एक मात्र ठाउँमा पाइने विष्णुको स्वरुप मानिने शालिग्राम पवित्र नदी काली गण्ठकीमा पाइने कुरा डा गुरुप्रसाद सुवेदीले बताए। मुक्तिनाथ दामोदरकुण्डबाट बग्दै आएको काली देवघाटधाममा नै आएर त्रिशूलीमा समाहित भई नारायणी नदीको रुप लिएको डा स्वामी रमणानन्द गिरिले जानकारी दिए ।
चक्रवर्ती मन्दिरको निकटमा रहेको लक्ष्मी नारायण मन्दिरमा लक्ष्मीनारायणको पाउको चिह्न रहेको महेश विद्यापीठका अध्यापक फणिन्द्र पौडेलले जनाए । पत्थरमा रहेको यो चिह्न प्राकृतिक रहेको विश्वास छ । यो शीला अलौकिका साथै रहस्यमयी रहेको स्थानीयवासीको भनाई छ ।
देवघाटधाम क्षेत्रमा रहेका दर्जनौँ मन्दिर, देवालय तथा गुरुकुल आदिले यहाँको महत्व बढाएको छ । देवघाट क्षेत्र विकास समितिको क्षेत्रभित्र पर्ने नवलपरासी बर्दघाट–सुस्तापूर्वको गैँडाकोट नगरपालिकामा मौलाकालिका मन्दिरसमेत छ ।
वैदिक सभ्यतादेखि हिन्दू धर्मग्रन्थमा उल्लिखित विभिन्न विषयलाई प्रत्यक्ष अनुभूति गर्न सकिने देवघाटधामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिएमा यसको गरिमा र महत्व अझै बढ्ने नेपाल पर्यटन यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष गुरुङ बताउँछन् ।
प्रतिक्रिया