दलाल पुँजीपति वर्गको एजेन्ट ओली : प्रचण्ड

नेपालखोज २०७८ पुष १ गते १३:५२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सेयर बजारको आफ्नो विश्लेषण सही रहेको दाबी गरेका छन् ।

उनले बिहीबार विज्ञप्ति जारी गर्दै पार्टी र लाखौं लगानीकर्ताको हितका पक्षमा आफू बाल्ने गरेको स्पष्ट पारे । ‘आजको पुँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको सेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र मसमेत लाखौं लगानीकर्ताको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु,’ विज्ञप्तिमा भनिएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि बिहीबार मनोनीत केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा प्रचण्डको अभिव्यक्तिको विरोध जनाएका थिए ।

प्रचण्डले विज्ञप्तिमा भनेका छन्, ‘मार्क्सवाद र कम्युनिस्ट सिद्धान्तबाट कोशौं टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तीय एकाधिकार पुँजीवादबारे गरेको विश्लेषणमाथि गरिएको टिप्पणीलाई दलाल पुँजीपति वर्गको एजेन्टको टिप्पणीका रूपमा खारेज गर्दछु ।’

प्रचण्डको पछिल्लो अभिव्यक्तिलाई लिएर सेयर लगानीकर्ताहरू पनि रुष्ट थिए । सेयर लगानीकर्ताहरूको एक समूहले प्रचण्डलाई ‘पुँजीबजार विरोधी’ भन्दै ‘नो भोट’ अभियानको घोषणा नै गरेको छ ।

प्रतिक्रिया