आमनिर्वाचनमा दुईपटक असफल कांग्रेस महामन्त्री शर्मा को हुन् ?

नेपालखोज २०७८ पुष १ गते १८:२४

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । यसअघि केन्द्रीय सदस्य तथा पार्टी प्रवक्ता रहेका शर्मा १४औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका हुन् ।

युवा नेता विश्वप्रकाश शर्माको जन्म वि.सं २०२७ साल पुष ६ गते झापाको शान्तिनगरमा भएको हो । बुवा परशुराम भण्डारी र आमा सावित्रा भण्डारीका छोरा शर्माका एक छोरा र एक छोरी छन् । शर्माले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

२०३७ सालबाट विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेका शर्मा नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको महामन्त्री र अध्यक्ष भइसकेका छन् । सिर्जनशील युवा नेता शर्मा राजनीतिक विश्लेषक एवं साहित्यकारका रुपमा पनि परिचित छन् ।

१३औं महाधिवेशनबाट केन्द्रीय सदस्यका साथै पार्टीको केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा रहेका शर्मा १४आंै महाधिवेशनमा पार्टीको कार्यकारी पद महामन्त्रीमा निर्वाचित भएका हुन् । अघिल्ला दुई आमचुनावमा शर्मा झापा क्षेत्र नम्बर १ बाट पराजित भएका थिए ।

संसदीय प्रतिस्पर्धामा पराजित शर्मा पार्टी प्रतिस्पर्धामा भने सफल भएका छन् । बदलिएको कांग्रेस, बलियो कांग्रेसको नारा दिएका शर्माले युवा प्रतिनिधिको लोकप्रिय मत पाए । सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्ताको जिम्मेवारी दिएपछि शर्मा देउवा पक्षमा रहँदै आएका थिए ।

तर, कृष्ण सिटौलासँगको सहकार्यले शेरबहादुर देउवाले टिकट नदिँदा शर्मा प्रकाशमान सिंह टिमबाट महामन्त्रीको प्रतिस्पर्धामा उत्रिएका थिए ।

प्रतिक्रिया