‘संसद् आमजनताको आवाज उठाउने थलो हो, अवरोध गर्नु हुँदैन’

नेपालखोज २०७८ पुष १ गते १८:४३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले आम जनताको आवाज उठाउनुका साथै नीति निर्माण गर्ने थलो संसद् भएकाले त्यसलाई अवरोध गर्न नहुने बताएका छन् ।

पार्टी निकट वाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले केही अराजक समूहले देश र जनताप्रति गैर–जिम्मेवार भएर निरन्तर जनप्रतिनिधिमूलक थलोमा बाधा पुर्‍याइरहेको बताए ।

पूर्वप्रधानमन्त्री खनालले पछिल्लो निर्वाचनमा जनताले कम्युनिष्ट पार्टीलाई विश्वास गरी करिब दुई तिहाइ बहुमत दिएको भए पनि तत्कालीन एमालेको नेतृत्व भष्मासुरको हातमा परेर ऐतिहासिक अवसर गुमेको विचार व्यक्त गर्दै दुई तिहाइ बहुमत हुँदा त्यसलाई सम्हाल्न नसकेको एमालेले पुनः बहुमत ल्याउने भ्रम फैलाइरहेको बताए ।

बलियो कम्युनिष्ट पार्टी निर्माणका लागि मजदुर, किसान, देशभक्त र समाजवादी चिन्तन बोकेका वर्गलाई एकताबद्ध गरी अगाडि बढेको उल्लेख गर्दै उनले बहुसङ्ख्यक जनतालाई न्यायोचितरूपमा वितरणका अवसर उपलब्ध गराउने व्यवस्था नै समाजवाद भएको बताए।

प्रतिक्रिया