‘पार्टीको बेथितिलाई अन्त्य गर्दै विधानसम्मत् चलाउँछौं’

नेपालखोज २०७८ पुष १ गते १९:१०

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगनकुमार थापाले आगामी दिनमा पार्टीलाई एकतावद्ध र सुदृढ बनाएर अघि बढाउने बताएका छन् ।

पार्टीको महामन्त्रीमा निर्वाचित भएसँगै बिहीवार पार्टी केन्द्रीय कार्यालयमा संक्षिप्त रुपमा बोल्दै महामन्त्री थापाले अधिवेशनमा प्रतिस्पर्धाका क्रममा आफ्नै साथीहरुका बिचमा बढेको दुरीलाई कम गर्दै पार्टीलाई एकतावद्ध र सुदृढ पार्टीको रुपमा अगाडी बढाउने बताएका हुन् ।

उनले पार्टीमा नजोडिएकाहरुलाई पार्टीमा जोड्न प्रेरित गर्ने बताए । महामन्त्री थापाले पार्टीका पदाधिकारीहरु मिलेर पार्टी सभापतिलाई बल पुर्‍याएर र घच्घचाएर सही ठाउँमा उभ्याउने पनि बताए । उनले आफुसँग एकदिन पनि चुक्ने सुविधा नरहेको उल्लेख गर्दै पाएको जिम्मेवारी इमान्दारिता पूर्वक र परिपक्व ढंगले निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।

महामन्त्री थापाले आफुले अघि सारेको ‘समुन्नत नेपालः सम्मानित नेपाली’ को कार्यक्रमलाई पार्टीकै कार्यक्रम बनाउन प्रयास गर्ने बताए । उनले पार्टीको बेथितिलाई अन्त्य गर्दै विधानसम्मत् र विधिसम्मत् रुपमा चलाउने बताए । पार्टीभित्र एउटा व्यक्तिले वर्चस्व राख्ने परम्परा बनेको भन्दै उनले त्यस्तो परम्परालाई भत्काउने बताए ।

महामन्त्री थापाले नेपाली कांग्रेसका लाखौँ सदस्यहरुलाई समाज रुपान्तरणको मुद्धाहरुमा सकारात्मक ऊर्जाको रुपमा प्रयोग गर्ने पार्टीको रुपमा लिएर जाने प्रयास गर्ने बताए ।

प्रतिक्रिया