गुरुङले भने- देउवाले दोस्रो इनिङमा सेन्चुरी हान्न नसके पनि अर्धशतक हान्छन्

नेपालखोज २०७८ पुष २ गते १८:०९

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको दोस्रो इनिङ सुरु भएको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपसभापति गुरुङले पार्टीमा सभापति देउवाको दोस्रो इनिङ सुरु भएको बताएका हुन् ।

उनले सभापति देउवाले दोस्रो इनिङमा सेन्चुरी हान्न नसकेपनि अर्धशतक हान्ने दाबी गरे । उपसभापति गुरुङले पार्टीलाई विधिसम्मत बनाउने ठाउँमा आफू पुगेको भन्दै अब पार्टी विधि र पद्धतिअनुसार चल्ने बताए । उनले यो अग्निपरीक्षा भएकोले यसमा खरो उत्रिनु आफ्नो कर्तव्य भएको पनि बताए ।

नव–निर्वाचित उपसभापति गुरुङले महाधिवेशनमा आफूहरुले ४० प्रतिशत मत प्राप्त गरेको भए पनि ६०–४० जसरी पहिलेको झैँ भाग खोज्न नजाने बताए ।

उनले भागबण्डा खोज्दा पार्टीको स्तर गुमेको अनुभवबाट अब पार्टीलाई भागबण्डारहीत बनाइ पुरातन र परम्परावादी सोच नराख्ने स्पष्ट पारे । उपसभापति गुरुङले न्यायोचित व्यवस्थापन गरेर पार्टीलाई रुपान्तरित र न्यायोचित ढंगले अघि बढाउने बताए । उपसभापति गुरुङले भ्रष्टाचारका कारण जनताले सुशासन पाउन नसकेको दाबी समेत गरे ।

प्रतिक्रिया