शनिबार, जेठ ५, २०८१

खेलाडीलाई गरिएको कारबाहीमा पुनर्विचार गर्न खेलकुद मन्त्रीको आग्रह

नेपालखोज २०७८ पुष २ गते २०:१५

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले क्रिकेट खेलाडीलाई गरीएको कारबाहीमाथी पुनर्विचार गर्न आग्रह गरेका छन् । शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुलाई मन्त्रालयमा बोलाएर मन्त्री अथकले कारबाहीको निर्णयमाथी पुनर्विचार गर्न आग्रह गरेका हुन् ।

क्रिकेट खेलमार्फत् नेपाललाई विश्वसामु चिनाउन योगदान गरेका खेलाडीहरुलाई दुरुत्साहित हुने ढंगले कारबाही गरिनु गलत भएको भन्दै मन्त्री अथकले खेलाडीहरुलाई संरक्षणन गर्नुपर्ने बताए । क्यान र खेलाडीबिच देखिएको समस्या समाधानका लागि उपर्युक्त विधि अपनाउनुपर्ने बताउँदै मन्त्री अथकले खेल क्षेत्रमै आफ्नो उर्जावान समय खर्चिएका खेलाडीहरुलाई गरीएको कारबाहीले गलत सन्देश प्रवाह भएको भन्दै चिन्ता समेत व्यक्त गरे ।

मन्त्री अथकले आगमी दिनमा हुन गईरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेत मध्यनजर गर्दै तत्काल देखिएका समस्या समाधान गर्न क्यानका अध्यक्ष चतुरबहादुर चन्दसहितका पदाधिकारीहरुलाई निर्देशन समेत दिएका छन् । त्यसक्रममा मन्त्री अथकले खेलाडीहरुको वर्गिकरण प्रक्रियाका विषयमा समेत चासो लिएका थिए ।

गत मंसिर २९ गते नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीमाथि कारबाही गरेको थियो । उक्त निर्णयप्रति मन्त्री अथकले असन्तुष्टि जनाउँदै कारबाहीको निर्णयमाथी पुनर्विचार गर्न आग्रह गरेका हुन् ।

प्रतिक्रिया