शुक्रबार, पुष ११, २०८२

संसारमा राज गर्ने ५ ठूला कम्पनी !

नेपालखोज २०७८ पुष ३ गते १७:१३

काठमाडौं । अमेरिका संसारको सुपर पावर ह‍ो । यो तागतका पछाडि उसको मजबुत अर्थव्यवस्था आधारका रुपमा खडा छ । अमेरिकाको यो सुदृढ आर्थिक अवस्थाका लागि अमेरिकी कम्पनीहरुले ठूलो योगदान दिएका छन् । उद्योग-व्यवसायको हर क्षेत्रमा अमेरिकी कम्पनीको रजगज छ । यी अमेरिकी कम्पनीहरुको कारोबार संसारभर फैलिएको छ । आउनुहोस् हेरौं २०२१ मा संसारभर राज गर्न सफल पाँच ठूला कम्पनीको कथा :

एप्पल
संसारमा सबैभन्दा बढी प्रयोग हुने मोबाइलमध्ये एप्पल कम्पनीको मोबाइल पनि हो । एप्पल कम्पनी अमेरिकाभित्र मात्र होइन संसारभर सुपरिचित छ । यो अमेरिकाको ठूला कम्पनीमा पनि पर्छ । एप्पलको स्थापना १ अप्रिल १९७६ मा भएको थियो । एप्पलको मोबाइल, फोन मार्केटको राजा मानिन्छ । मार्केट क्यापको दृष्टिले यो अमेरिकाको दोस्रो ठूलो कम्पनी हो । २०२० कै एक तथ्यांकअनुसार एप्पलको मार्केट क्याप २ दशमलव ६२ डलरको थिय‍ो । एप्पललाई यो उचाइमा पुर्याउने श्रेय स्टिभ जब्सलाई जान्छ । यो कम्पनीमा एक लाख ३७ हजारभन्दा बढी कर्मचारी कार्यरत छन् ।

माइक्रोसफ्ट
माइक्रोसफ्ट संसारको सबैभन्दा ठूलो सफ्टवेयर कम्पनी हो । माइक्रोसफ्ट अमेरिकी सेयर बाजारमा सबैभन्दा बढी कारोबार गर्ने कम्पनी हो । २०२० को अन्त्यतिर अमेरिका सेयर बाजारमा माइक्रोसफ्टको मार्केट क्याप २ दशमलव ५२७ ट्रिलियन डलर थियो । य‍ो कम्पनीको सुरुवात होम मेड विन्डोज सफ्टवेयरबाट भएको थियो । आज यो कम्पनी आफ्नो सफ्टवेयरका कारण संसारभर सुपरिचित छ । य‍ो कम्पनीमा एक लाख ४० हजार नियमित कर्मचारी छन् । माइक्रोसफ्टको स्थापना बिल गेट्सले ४ अप्रिल १९७५ मा गरेका थिए ।

गुगल
गुगलक‍ो प्रधान कार्यालय अमेरिकाको क्यालिफोर्नियामा छ । गुगलको स्थापना ल्यारी पेज तथा सर्गे ब्रिन ले १९९८ मा गरेका थिए । अहिले गुगलमा करिब एक लाख २० हजार कर्मचारी कार्यरत छन् । यो कम्पनीको मार्केट क्याप १ दशमलव ९४ ट्रिलियन डलर छ । यो कम्पनीले इन्टरनेटमा आधारित अनेकौं सेवा तथा उत्पादन विकसित गर्दै आएको छ । गुगलले विश्वभर फैलिएका आफ्ना डाटा-केन्द्रहरु बाट १० लाखभन्दा बढी सर्भर चलाउँछ भने १० अर्बभन्दा बढी खोज-अनुरोध एवं पेटाबाइट उपभोक्तासम्बन्धी जानकारी (डाटा) स्टोरेज गर्छ ।

अमेजन
अमेजन अमेरिकी बहुराष्ट्रिय प्रौद्योगिकी कम्पनी हो । यो विश्वका ई-कमर्स कम्पनीमध्ये एक नम्बरको कम्पनी हो । यो खासगरी अनलाइन स्टोर हो जहाँ कसैले पनि कुनै पनि वस्तु वा सेवा खरिद-बिक्री गर्न सक्छ । अहिले अमेजनको मार्केट क्याप १ दशमलव ८०६ ट्रिलियन डलर छ । यो कम्पनीको प्रारम्भ अनलाइन पुस्तक बिक्रीबाट भएको थियो । यो कम्पनीका संस्थापक जेफ बेजोस हुन् । अमेजनमा हाल करिब आठ लाख पूर्णकालीन कर्मचारी छन् ।

टेस्ला
टेस्ला कम्पनीका लागि २०२१ उत्कृष्ट रह्यो । कम्पनीको मार्केट क्यापमा आएको ठूलो वृद्धिका कारण यो टप ५ अमेरिकी कम्पनीमा पर्न सफल भयो । टेस्लाको मार्केट क्याप १ दशमलव १४१ ट्रिलियन डलर छ । टेस्लाको मुख्य कार्यालय क्यालिफोर्नियामा छ । यो कम्पनी उत्कृष्ट इलेक्ट्रिक कारका लागि सुपरिचित छ भने यसले सोलार प्यानल पनि निर्माण गर्दै आएको छ । यो कम्पनीका सीईओ एलन मस्क हुन् ।

प्रतिक्रिया