देउवालाई पदाधिकारीमा हाइसञ्चो, स्पष्ट बहुमत

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीमा सभापति देउवा पक्षका करिव दुईतिहाई चुनिएका छन् । शुक्रबार पदाधिकारी तर्फको पाँच समूहका सहमहामन्त्रीको मत परिणाम सार्वजनिक भएसँगै कांग्रेसका १३ पदाधिकारीको टुंगो लागेको हो । पदाधिकारीमा देउवा पक्षको सहभगिता करिव ६२ प्रतिशत हुन्छ ।
१३ पदाधिकारीमा संस्थापन पक्षबाट ८ जना विजयी भएका छन् भने इतर पक्षका ५ जना चुनिएका छन् । देउवा, डा शेखर कोइराला र प्रकाशमान सिंहको समूहबाट उम्मेद्वार बनेका पदाधिकारीमा निर्वाचित भएका छन् । समग्रमा कांग्रेसको पदाधिकारीमा मिश्रित परिणाम आएको छ ।
कांग्रेसको १३ औं महाधिवेशनमा निर्वाचित भएका सभापति शेरबहादुर देउवाले नै १४ औं महाधिवेशनबाट पनि कांग्रेसको कमान्ड सम्हाले । देउवा समूहले सभापतिसहित १ उपसभापति र ६ सहमहामन्त्री जितेको छ । कोइराला समूहले १ उपसभापति, १ महामन्त्री र २ सहमहामन्त्रीमा जितेको छ भने सिंह समूहले १ महामन्त्रीमा चित्त बुझाएको छ ।
डा शेखर कोइरालालाई पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति निर्वाचित भए । दुई उपसभापतिमा देउवा र कोइरालाका एक–एक जना निर्वाचित भए । देउवा पक्षका पूर्णबहादुर खड्का र कोइराला पक्षका धनराज गुरुङले उपसभापतिमा बाजी मारे । सधै सत्ता र शक्तिको केन्द्रबिन्दुमा रहेर राजनीति गर्ने बिजयकुमार गच्छादार उपसभापतिमा गुरुङसँग झिनो मतान्तरले पराजित भए ।
पार्टीभित्र सभापति पछि कार्यकारी मानिने महामन्त्रीमा देउवा पक्षका उम्मेद्वार पराजित भए । कोइराला पक्षबाट गगन थापा र सिंह प्यानलबाट चुनाव लडेका बिश्वप्रकाश शर्माले महामन्त्री जिते । सहमहामन्त्रीमा देउवा पक्षका महालक्ष्मी डिना उपाध्याय, उमाकान्त चौधरी, किशोरसिंह राठौर, फरमुल्लाह मन्सुर, महेन्द्र यादव र भिष्मराज आङ्देम्बे विजयी भए । कोइराला समूहका सहमहामन्त्री उम्मेद्वार बद्री पाण्डे र जीवन परियार पनि निर्वाचित भए ।
१३ पदाधिकारीमा महिलाको प्रतिनिधित्व संख्या १ छ । पार्टीका सबै तहका पदाधिकारी र सदस्यको कार्यकाल ४ वर्षको हुने कांग्रेसको विधानमा उल्लेख छ । आवश्यक परे केन्द्रीय समितिले बढीमा १ वर्षसम्मको अवधि बढाउन सक्ने व्यवस्था गरिएको छ ।
१ सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री, ३५ खुला केन्द्रीय सदस्य, ९ महिला, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित ९, आदिवासी–जनजाति १५, खस–आर्य १३, मधेसी ९, थारु ४, मुस्लिम ३, पिछडिएको क्षेत्र १, अल्पसंख्यक १ र अपांगबाट १ सदस्य गरी कुल १ सय ३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने व्यवस्था कांग्रेसको विधानमा छ ।
कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ । ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनीत गर्ने व्यवस्था छ ।
प्रतिक्रिया