आइतबार, फागुन १३, २०८०

देशमा हरेक वर्ष २० प्रतिशतका दरले विद्युत्‌को माग बढ्दो

नेपालखोज २०७८ पुष ४ गते १३:४३

काठमाडौं । प्रभावकारी नीति, व्यवहारिक कार्ययोजनालगायत कारणले आन्तरिक बजारमा विद्युत्‌को माग उल्लेखनीय रूपमा बढेको छ । हरेक वर्ष औसतमा २० प्रतिशतका दरले विद्युत् माग बढेको पाइएको छ । खपत बढाउन चालिएका कदम र जाडो बढेसँगै विद्युत्‌को आन्तरिक माग ह्वात्तै बढेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार, गत वर्षको तुलनामा यस वर्षको विद्युत्को उच्च माग (पिक डिमान्ड) ३०० मेगावाटको हाराहारीमा बढेको छ । आन्तरिक रुपमा उत्पादन भएको विद्युत् खपत गर्न नसकी खेर जाने अवस्था आएपछि खपत बढाउन विद्युतीय उपकरणको प्रयोग बढाउने र उद्योगलाई चाहिएजति विद्युत् उपलब्ध गराउने नीति लिई सोहीअनुसार काम भइरहेको छ ।

विद्युतीय चुल्हो, एयर कन्डिसनलगायत विद्युत्‌बाट चल्ने घरायासी सामानको प्रयोग बढेको छ । सरकारीस्तरबाट चार्जिङ स्टेसन निर्माणको प्रक्रिया अगाडि नबढेको भए पनि निजी क्षेत्रले आफ्नै पहलमा चार्जिङ स्टेसन निर्माण गरिरहेका छन् । त्यसले विद्युत्‌बाट सञ्चालन हुने यातायातका साधनको वृद्धि भएको छ ।

ठूला उद्योगलाई मागअनुसारको बिजुली उपलब्ध गराइएको छ । उद्योगले पर्याप्त विद्युत् पाएका कारण उत्पादन क्षमतामा वृद्धि भएको छ । त्यसबाट दैनिक खपत पनि बढिरहेको छ । प्राधिकरणले कात्तिकको अन्तिम सातादेखि नै देशकै ठूलो सिमेन्ट उद्योग होङ्सीलाई ३० मेगावाट विद्युत् उपलब्ध गराएको छ । चिनियाँ लगानीको अर्को हुवासिन सिमेन्ट उद्योगले पनि २० मेगावाट बिजुली जोडेको छ ।

विद्युत्‌को माग क्षमता (मेगावाट) र ऊर्जा (युनिट) दुवै बढिरहेको छ । मंसिर २७ गते प्रणालीमा विद्युत्‌को उच्च माग एक हजार ५३९ मेगावाट थियो । गत वर्षको सोही दिनको माग एक हजार २१७ मेगावाटको थियो । गत वर्षको तुलनामा यो ३२२ मेगावाट बढी हो । यस आधारमा विद्युत्‌को पिक डिमान्ड गत वर्षको सोही दिनको तुलनामा २६.५ प्रतिशतले वृद्धि भएको छ ।

गत मंसिर २७ गतेको प्रणालीको पिक डिमान्ड पूर्तिका लागि प्राधिकरणका विद्युत् गृहबाट ५४० मेगावाट, प्राधिकरणका सहायक कम्पनीका विद्युत् गृहबाट ५२९ मेगावाट, निजी क्षेत्रका विद्युत्‌गृहबाट ४२५ मेगावाट र भारतबाट २५ मेगावाट आयात गरिएको थियो । सोही दिन पिक समयमा पनि ४ मेगावाट विद्युत् भारततर्फ निर्यात गरिएको थियो ।

विद्युत् बढी खपत हुने काठमाडौं उपत्यकासहित आसपासको क्षेत्रमा विद्युत् माग पनि ह्वातै बढेको छ । काठमाडौं उपत्यकामा विद्युत्‌को अधिकतम माग ९० मेगावाटको हाराहारीमा बढेको छ । गत वर्ष २९३ मेगावाट रहेको काठमाडौं उपत्यकाको पिक डिमान्ड यस वर्ष ३८२ मेगावाट पुगेको छ । यसले पनि काठमाडौं उपत्यकामा पनि उल्लेख्य रुपमा बिजुलीको मागमा वृद्धि भएको देखिन्छ ।

उपत्यकामा विद्युतीय चुल्होको प्रयोगमा वृद्धि भएको पाइएको छ । ऊर्जाका मागका आधारमा मंसिर २७ गते विद्युत् खपत दुई करोड ७२ लाख युनिट थियो । यो खपत गत वर्षको सोही दिनको दुई करोड ११ लाखको तुलनामा ६१ लाख युनिट बढी हो । ऊर्जाका आधारमा विद्युत् खपत गत वर्षको तुलनामा २८.६५ प्रतिशतले बढी हो ।

प्रतिक्रिया