‘नागरिकता नभएकालाई पनि मतदानमा समेट्नुपर्छ’

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नागरिकता नभएकालाई पनि मतदानमा समेट्नु पर्ने बताएका छन् । उनले निर्वाचन आयोगले मतदाता नामावली संकलनका क्रममा नागरिकता भएका मात्र समेटिएको भन्दै असन्तुष्ति व्यक्त गरे ।
आइतबार सामाजिक सञ्जालमार्फत उमेर पुगेका तर नागरिकता नभएकाहरु निर्वाचन प्रक्रियामा सहभागि हुनुपर्ने यादवले बताए । उनले लेखेका छन्, –‘नागरिकता प्रमाणपत्र नभएको अथवा राज्यले दिन नसकेको कारणले मात्र कुनै पनि व्यक्ति गैरनागरिक हुन सक्दैन । लाखौँ जन्मसिद्ध नागरिकहरूका सन्तानलाई अझैसम्म राज्यले नागरिकता प्रमाणपत्र दिन सकेको छैन । त्यसैगरी लाखौं मधेसीहरूलाई नागरिकता प्रमाणपत्र राज्यले प्रदान गरेको छैन ।’
नागरिकता प्रमाणपत्र बनाउनु र नागरिक हुनु फरक विषय भएको उनको दाबी छ । उनले लेखेका छन्, – ‘नागरिकताको प्रमाणपत्र दिनुपर्ने दायित्व राज्यको हो, राज्यले आफ्नो जिम्मेवारी पूरा नगर्ने तर त्यसको सजाय जनताले भोग्नुपर्ने ।’


प्रतिक्रिया