एभरेष्ट बैंकको वार्षिक प्रतिवेदन पारित

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अनुसार यही पुस एक गते भर्चुअल माध्यमबाट सम्पन्न साधारण–सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७ /०७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र वार्षिक प्रतिवेदन पारित गरेको छ ।
सभाले सेयरधनीहरुलाई आ.व २०७७/०७८ का लागि छ प्रतिशतका दरले हुन आउने ५३ करोड ३६ लाख २३ हजार ३१ रुपैयाँ बराबरको बोनस सेयर र चार दशमलव ३२ प्रतिशतका दरले हुने ३८ करोड ४२ लाख आठ हजार पाँच सय ८३ रुपैयाँ बराबरको नगद लाभांश (बोनस सेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बैंकले प्रस्तावित ५३ करोड ३६ लाख २३ हजार ३१ रुपैयाँ बराबरको बोनस सेयर वितरण भए पश्चात हालको जारी र चुक्ता पूँजी आठ अर्ब ८९ करोड ३७ लाख १७ हजार एक सय ७८ रुपैयाँबाट वृद्धि भई नौ अर्ब ४२ करोड ७३ लाख ४० हजार दुई सय नौ रुपैयाँ हुने भएकाले जारी र चुक्ता पूँजी वृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ ।
सभाले आ.व २०७८/७९ को लागि सुन्दर एंड कम्पनी, चार्टर्ड एकाउन्टेन्टसलाई लेखा परीक्षकमा नियुक्त गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरेको छ । बैकले हाल देशैभरि छरिएर रहेको आफ्नो एक सय पाँच वटा शाखा संजाल, प्रादेशिक कार्यालय, एक सय ३८ एटिएम बुथसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।
प्रतिक्रिया