सोमबार, जेठ ७, २०८१

टुंगो लागेन निर्माण कम्पनीको अवधि थप्ने विषय

नेपालखोज २०७८ पुष ४ गते १७:४७

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा कार्यरत निर्माण कम्पनीको अवधि थप्ने विषय टुङ्गो लाग्न सकेको छैन् । अस्थायी रूपमा पानी काठमाडौँ ल्याउनका लागि अवधि थप गर्नुपर्ने भए पनि सरकारले टुङ्गो लगाइसकेको छैन्।

चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोको अवधि थप्नका लागि मेलम्ची खानेपानी विकास समितिले प्रक्रिया अघि बढाए पनि टुङ्गो लाग्न नसकेको हो । अस्थायी रूपमा पानी ल्याउका लागि विभिन्न संरचनामा मर्मत गर्नुपर्ने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए ।

गत फेबु्रवरीमा ठेक्का अवधि सकिएकामा अवधि थपको प्रक्रियामा हुँदा दुर्घटना भएको थियो । उनले भने, “अहिले मन्त्रालयमा छलफलकै क्रममा भए पनि टुङ्गो लाग्न सकेको छैन ।”

अस्थायी रूपमा पानी ल्याउन साधारण काम मात्रै बाँकी रहेको सूचना अधिकारी पन्तले बताए । आयोजनाअन्र्तगत अहिले सुरुङ र हेडवर्क सफा गर्न बाँकी छ । ठेक्काको अवधि थप भएमा बाँकी कामसँगै अहिले मर्मतको काम सोही कम्पनीलाई गराउन सकिने आयोजनाले जनाएको छ ।

कुनै पनि ठेक्कामा सुरुको ठेक्काको ५० प्रतिशभन्दा बढीको म्याद थप गर्नुपर्दा मन्त्रिपरिषदबाट निर्णय गर्नुपर्ने व्यवस्था छ । अहिले सो ठेक्काको अवधि थपसँगै कार्ययोजना अघि बढाइएको सूचना अधिकारी पन्तले बताए । अहिले बाँकी रहेका काम गर्नका लागि कम्पनीलाई समितिले काम गर म्याद थप भन्न सकिने भए पनि अहिले त्यो गर्न नसकिएको उनले बताए। उनले भने, “अवधि थप नभएकाले काम गर भन्न सकिएको छैन ।”

आयोजनाका बाँकी काम सम्पन्न गरेर अबको केही महिनामा पानी काठमाडौं उपत्यका ल्याउने गरी सडक र पुल अस्थायी रुपमा खुलाइसकिएको छ । समितिले हेलम्बु गाउँपालिकासँग समन्वयमा अस्थायी सडक खुलाएको हो ।

सरकारले आगामी चैतसम्ममा पुनः उपत्यकामा पानी झार्ने लक्ष्य लिएको छ । निर्माण कम्पनीको अवधि थप भएमा अस्थायी रूपमा ल्याउन समस्या नहुने सूचना अधिकारी पन्तले बताए । गत असारमा गएको बाढीका कारण पुरिएर रहेका साना सुरुङ खोल्न सकेमा पुनः पानी हस्थान्तरण गर्न सकिने उनले बताए । जम्मा दुई हजार ११० मिटर लम्बाइको हेडवर्क सुरुङ र दुई सय मिटर लम्बाइको अम्बाथान अडिट सफा गरेर मात्रै पानी हस्थान्तरण गर्न सकिन्छ । समितिले अहिले ती दुबै धेरै नभरिएको छ अनुमान गरेको छ । उनले भने, “धेरै काम बाँकी नभएकाले सुरु भएपछि धेरै समय नलाग्न सक्छ ।”

कामको हिसाबले अहिले कार्यरत कम्पनीलाई काम लगाउन सजिलो भएको समितिले जनाएको छ । निर्माण कम्पनीका कारणभन्दा पनि प्रकृतिक विपत्तिका कारणले समस्या आएकाले पनि अवधि थप गर्नुपर्ने सूचना अधिकारी पन्तले बताए।

अहिले कार्यरत निर्माण कम्पनीको ठेक्का सम्पन्न नभएकाले नयाँ व्यवसायीलाई काम गराउन नसकिने समितिले जनाएको छ । अहिले सुरुङभित्र लगेर अरु कम्पनीलाई काम गराउदा समस्या आउनसक्ने हुँदा उसको नै अवधि थप्न भनिएको उनले बताए।

हेडवर्कमा पनि नयाँ कम्पनीले काम गर्दा भएका संरचनामा थप क्षति हुनसक्ने भएकाले सिनो हाइड्रो कम्पनीको नै अवधि थप गर्नु ठिक हुने उनले बताए । उनले भने, “उसको र हाम्रो कारणले ढिला भएको होइन, त्यसैले ठेक्का तोड्न सकिने अवस्था छैन ।”

अवधि थप र कार्ययोजनजा दुबैको विषयमा अहिले खानेपानी मन्त्रालयमा छलफल भइरहेको छ । पहिले मूल्यांकन टुङ्गो लगाएर अघि बढ्ने विषय पनि छलफल भइरहेको छ । खोलामा सफा गर्नुपर्ने भएकाले अनुमानित खर्च तलमाथि हुनसक्ने उनले बताए।

निर्माण सुरु भएको दुई दशकपछि सम्पन्न सो आयोजनाको पानी गतवर्ष फागुनमा परीक्षणका लागि सुरुङमा पठाइएको थियो । त्यसअघि गत वर्ष असारमा सुरुङको परीक्षण गर्दा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो । पछिल्लो पटक काठमाडौँ उपत्यकाका धेरै स्थानमा मेलम्चीको पानी वितरण सुरु भएको थियो ।

कार्यतालिकाको आधारमा असार १ देखि सुरुङको निरीक्षण थालिएको थियो । तीन महिनामा निरीक्षण सकेर असोजदेखि पुनः पानी सुन्दरीजल झारिने लक्ष्य लिइएको भए पनि प्राकृतिक विपत्तिले गर्दा त्यो पूरा भएन । मेलम्ची नदीमा आएको बाढीले गर्दा विभिन्न संरचना पुरिएका छन् । तीनमा कति क्षति पुग्यो भन्ने समेत यकिन छैन ।

प्रतिक्रिया