सोमबार, जेठ ७, २०८१

अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार २०२१ को नतिजा सार्वजनिक

नेपालखोज २०७८ पुष ५ गते ८:१९

काठमाडाैं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पुरस्कार समितिले अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार-२०२१ को नतिजा सार्वजनिक गरेको छ । अनेसास अनलाइन संवादको ८१औं शृंखलामा विशेष कार्यक्रममा प्रस्तुत जुम र फेसबुकका माध्यमबाट अनेसास पुरस्कार समितिका अध्यक्ष प्रा. डा. गोपी उप्रेतीले विजयी स्रष्टाहरुको नाम सार्वजनिक गरेका थिए ।

अनेसासले प्रदान गर्ने सबैभन्दा बढी राशी २,१०० डलरको अनेसास सर्वोत्कृष्ट पुस्तकबाट भूपिनको मैदारो उपन्यास पुरस्कृत भएको छ । यसै वर्ष स्थापित अनेसास माधव घिमिरे काव्य पुरस्कारबाट ‘आमा किरणहरुकी छालमा’ काव्यकृतिका लागि कवयित्री गीता कार्की र ‘वीर्य जमिन’ काव्यकृतिका लागि बादलदेवी चामलिङ पुरस्कृत भएका छन ।

२ हजार डलरको यो पुरस्कार राशि कार्की र चामलिङबीच बाडिनेछ । यसै वर्ष स्थापित अर्को पुरस्कार होमनाथ सुवेदी डायस्पोरा वाङ्मय पुरस्कार अमेरिकाको केन्टकी राज्यका डा. लक्ष्मीनारायण ढकालको संस्मरण निबन्ध ‘वासदेखि पुनर्वाससम्म’ ले प्राप्त गरेको छ । यो पुरस्कारको रकम १,२०० अमेरिकी डलर छ ।

अनेसास सर्वोत्कृष्ट डायस्पोरा पुस्तकबाट अमेरिकाको पेन्सिलभेनियाका जे एन दाहालको कृति ‘लेखककी छोरी’ कथासङ्ग्रह पुरस्कृत भएको छ । यसैगरी अनेसास सर्वोत्कृष्ट निबन्ध पुरस्कार-२०२१ विद्याप्रसाद घिमिरेको निबन्धकृति ‘पत्थरको देवता’ ले प्राप्त गरेको छ । अनेसास सर्वोत्कृष्ट उपन्यास पुरस्कार शैलेन्द्र अधिकारीको ‘निर्वेद’ उपन्यासले पाएको छ ।

महेश थापाको ‘मरीचिका’ कथासङ्ग्रह अनेसास सर्वोत्कृष्ट कथा पुरस्कार बाट पुरस्कृत भएको छ । यसको सौजन्य अनेसासका पूर्व केन्द्रीय अध्यक्ष एवं बिओटीका वर्तमान उपाध्यक्ष पदम विश्वकर्माले गरेका छन् । अनेसास सर्वोत्कृष्ट समालोचना, दर्शन, संस्कृति पुरस्कार डा. गोविन्द आचार्य र अशोक थारुले लेखेको ‘घोराहीको थारु प्रदर्शनकारी कला’ पुस्तकले प्राप्त गरेको छ ।

यी चारै पुरस्कार जनहि १,००० अमेरिकी डलरका हुन् । यसरीनै टीका ‘आत्रेय’ पौड्यालको ‘युगको सङघार’ गजलसङ्ग्रह अनेसास सर्वोत्कृष्ट गीत गजल हाइकू मुक्तक पुरस्कार बाट पुरस्कृत भएको छ । यो ५०० अमेरिकी डलरको पुरस्कार हो । अनेसास सर्वोत्कृष्ट पुस्तकका लागि अमेरिका र युरोपबाट २७ तथा नेपालबाट ८९ गरी ११६ वटा पुस्तक दर्ता भएको बताइएको छ ।

प्रतिक्रिया