कांग्रेसलाई अब बीपीको पाठ गणेश लामाले पढाउने !

नेपालखोज २०७८ पुष ५ गते १२:२१

काठमाडौं । नेपाली कांग्रेसको आइतबार सकिएको खुलातर्फको केन्द्रीय सदस्यमा गणेश लामा विजयी भएका छन् । ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा ९९ जनाले उम्मेद्‌वारी दिएका थिए । बहालवाला प्रदेशका मन्त्री र पूर्वमन्त्रीहरु पराजित हुँदा लामा भने कांग्रेस प्रतिनिधिबाट अनुमोदित भए ।

तत्कालीन लोकतान्त्रिक फोरमबाट कांग्रेसमा प्रवेश गरेका लामा विजयकुमार गच्छादारनिकट मानिन्छन् । गच्छादार भने उपसभापतिमा पराजित भइसकेका छन् । ३५ जना निर्वाचित हुने कोटामा लामाको नाम ३० नम्बरमा परेको छ । ६९ जनालाई पछि पार्दै लामा केन्द्रीय सदस्य चुनिएका हुन् । १८ सय ७२ मत ल्याएका उनले सबैभन्दा जेठो पार्टी कांग्रेसको केन्द्रीय समितिमा निर्वाचित हुने अवसर पाए । सभापति शेरबहादुर देउवाको समूहबाट चुनाव लडेका लामाको राजनीतिकमा आउनुभन्दा अघिको पृष्ठभूमि विवादास्पद छ ।

उनीमाथि रक्तचन्दन तस्करीदेखि फिरौती र ठेक्कापट्टा असुलीसम्मको कारोबारमा संलग्न भएको प्रहरीको आरोप छ । पटक-पटक हिरासतमा लामा बसेका छन् । उनलाई अकुत सम्पत्ति कमाएको आरोपमा सम्पत्ति शुद्धीकरणले समेत मुद्दा लगाएको थियो । विवादास्पद छवि बनाएका लामाले अब कांग्रेसको नेतृत्व कसरी सम्हाने हुन् त्यो भने हेर्न बाँकी रहेको विश्लेषकहरू बताउँछन् । ‘लामाले अब कांग्रेसलाई बीपीको पाठ पढाउने भए’ भन्दै सामाजिक सन्जालमा व्यंग्यसमेत भइरहेको छ ।

प्रतिक्रिया