त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरी समाधान गरिने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरी समाधान गर्ने बताएका छन् । आज (सोमवार) त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहमा बाल्दै मन्त्री पौडेलले त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरी समाधान गर्ने बताएका हुन् ।
उनले दिक्षित विद्यार्थीहरुले आफूसँग भएको ज्ञानलाई सीपसँग र सीपलाई उत्पादनसँग जोड्दै मुलुकको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणमा योगदान पुर्याउनु पर्ने बताए । मन्त्री पौडेलले ज्ञान र सीपलाई बदलिँदो विश्व परिवेश र स्थानीय आवश्यक्तासँग तालमेल मिलाउँदै व्यवहारिक र जीवनोपयोगी बनाउन जरुरी रहेको पनि जनाए ।
उनले अनुसन्धानात्मक संस्थाहरुलाई अझ बढी प्रभावकारी बनाउनु पर्ने महशुस आफूले गरेको बताउँदै त्रिभुवन विश्वविद्यालयले विदेशमा बिक्ने शिक्षा नेपालमै प्रदान गरेर उच्च शिक्षा अध्ययनको व्यवस्था स्वदेशमै मिलाउनु पर्ने भनाइ राखे ।
मन्त्री पौैडेलले विश्वविद्यालयबाट विद्यार्थीलाई उच्चस्तरीय शिक्षा प्रदान गर्न चाहिने आवश्यक सहयोग सरकारले गर्ने प्रतिवद्धतासमेत जनाए । उनले विदेशीन बाध्य भएका विद्यार्थीहरुलाई स्वदेशमा नै उच्चस्तरीय शिक्षा प्रदान गर्ने नेतृत्वदायी भुमिका त्रिभूवन विश्वविद्यालयले निर्वाह गर्नुपर्ने जनाएका छन् ।
प्रतिक्रिया