‘भृकुटीमण्डप बजारलाई अब व्यवस्थित बनाइनेछ’

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले भृकुटीमण्डप बजारलाई व्यवस्थित बनाउने बताएकी छन् । आज (सोमबार) काठमाडौंमा आयोजित भृकुटीमण्डप निम्न व्यापारी संघको २७ औं वार्षिक साधारणसभामा मन्त्री रेग्मीले यस्तो बताएकी हुन् ।
मन्त्री रेग्मीले अव्यवस्थित रुपमा रहेको भृकुटीमण्डप बजारलाई व्यवस्थित बनाउने प्रतिबद्धता जनाइन् । उनले भृकुटीमण्डपमा अहिले अव्यवस्थित रुपमा सञ्चालन हुँदै आएकाले यसलाई व्यवस्थित बनाउँदै साना व्यापारीमैत्री क्षेत्र बनाउने योजना रहेको बताइन् । मन्त्री रेग्मीले भृकुटीमण्डपमा धेरै समस्याहरुको भन्दै सबैलाई व्यवस्थित गर्नु पर्ने जरुरी रहेको उल्लेख गरिन् ।
मन्त्री रेग्मीले भृकुटीमण्डपमा रहेका निम्न व्यवसायीले र्तिदै आएको भाडालाई वैज्ञानिक रुपमा वृद्धि गर्दै प्लास्टिकको छानोलाई परिर्वतन गर्ने काम समेत अगाडि बढाउने बताइन् । उनले भृकुटीमण्डप स्टलको भाडा बढाएर व्यापारी बस्ने स्थान व्यवस्थित र सरसफाइमा समेत व्यवस्थित बनाइने जनाइन् ।
मन्त्री रेग्मीले बजार स्थापना भएको २७ वर्ष पुगे पनि बजारलाई व्यवस्थित गर्नु नसक्नु राम्रो नभएको गुनसो गरिन् । समाज कल्याण परिषद्सँग भएको सम्झौता सकिए पनि पुनः सम्झौता गर्न तयार रहेको उनको भनाइ छ ।
मन्त्री रेग्मीले पछिल्लो समय भृकुटीमण्डपका व्यापारीहरूले बीचबीचमा समाजकल्याण परिषद्भन्दा बाहिर सम्झौता हुने गरेको भन्दै परिषद्मा नै गएर सम्झौता गर्न व्यापारीलाई आग्रह गरेकी छन् ।
उनले भृकुटीमण्डपका व्यापारीको घर धनी भनेको समाज कल्याण परिषद् भएको भन्दै घर धनीलाई थाहा नदिई सामान बेच्न नपाउने जनाइन् । कार्यक्रममा संघले मन्त्रीसँग गत मंसीर २४ गतेदेखि सकिएको सम्झौता थप गर्न आग्रह गरेको थियो ।

प्रतिक्रिया