शनिबार, जेठ ५, २०८१

प्रधानमन्त्री देउवाबाट साफ उपविजेता खेलाडीहरु पुरस्कृत

नेपालखोज २०७८ पुष ६ गते १५:२१


काठमाडौ । नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी तथा प्रशिक्षक पुरस्कृत भएका छन । १३ औं संस्करणको साफ च्याम्पीयनसिप प्रतियोगितामा उपविजेता हुन सफल नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी तथा प्रशिक्षक पुरस्कृत भएका हुन् ।

आज (मंगलबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले साफ उपबिजेता खेलाडीहरुलाई जनही ५ लाख नगदसहित सम्मान गरेका हुन ।

सरकारले साफमा ऐतिहासिक नतिजा निकाल्न सफल राष्ट्रिय फुटबल टिमका खेलाडीलाई जनही ५ लाख तथा प्रशिक्षकलाई ३ लाख रुपौयाँ पुरस्कार दिने घोषणा गरेको थियो । सोही घोषणा कार्यान्वयनका लागि युवा तथा खेलकुद मन्त्रालयले मंगलबार सम्मान तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको थियो ।

सम्मानित हुने खेलाडीहरुमा राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङ, अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, गौतम श्रेष्ठ, सुजल श्रेष्ठ, तेज तामाङ, रोहित चन्द, पुजन उपरकोटी, सुमन लामा, नवयुग श्रेष्ठ, सुरज ठकुरी, नितिन थापा, बिशाल राई, सुनिल बल, आशिष लामा, सन्तोष तामाङ, आयुष घलान, विशाल श्रेष्ठ, मनिष डाँगी र कमल थापा छन् ।

उनीहरुले जनही ५ लाख नगद तथा सम्मानपत्र प्राप्त गरेका छन । त्यसैगरी राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी र प्रशिक्षकद्धय किरण श्रेष्ठ र बिकाश मल्ललाई जनही ३ लाख नगदसहित सम्मानपत्र दिइएको छ । प्रतियोगितामा सहभागी अफिसियललाई समेत प्रमाणपत्रले सम्मान गरिएको छ ।

खेलाडीहरुलाई पुरस्कृत गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यले खेल क्षेत्रलाई उच्चप्राथमिकतामा राखेको बताए । खेलाडीहरुले खेलको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल भएको उल्लेख गर्दे प्रधानमन्त्री देउवाले खुसी समेत ब्यक्त गरेका छन ।
कार्यक्रमका अध्यक्ष तथा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) ले खेलाडीहरुको हौसला बढाउन सरकार तत्पर रहेको बताए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा राम्रो नतिजा ल्याउने खेलाडी तथा प्रशिक्षकहरु स्वतः पुरस्कृत हुने गरी सरकारले सम्मान तथा पुरस्कार कार्यविधि ल्याउन लागेको उल्लेख गरे । मन्त्री अथकले सम्मानले खेल क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पुर्याउने विश्वास ब्यक्त गरेका छन् ।

प्रतिक्रिया