‘नेपालमा तत्कालै एलपी ग्यासको खपतलाई निरुत्साहित गर्न हुँदैन’

नेपालखोज २०७८ पुष ६ गते १८:५६

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष कुलप्रसाद मल्लीले नेपालमा तत्कालै एलपी ग्यासको खपतलाई निरुत्साहित गर्न नहुने बताएका छन् । सोमबार नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौंमा २२औं स्थापना दिवस कार्यक्रममा बोल्दै अध्यक्ष मल्लीले सरकारले नै विभिन्न इन्डक्सन चुलोको प्रयोग गरी एलपी ग्यासको खपतलाई निरुत्साहित गर्न नसक्ने बताए ।

अध्यक्ष मल्लले जलविद्युत नेपालको विकासको मूल ऊर्जा भएकोमा कुनै दुविधा नभएको बताए । उनले उत्पादन भएको विद्युतको खपत बढाउनुपर्छ तर, विद्युतिय प्रयोग गर्ने उचित पूर्वाधारको विकास नगरी सरकार आफैले जनतालाई भ्रम फैलाएर अलमलमा पार्न नहुने बताए ।

अध्यक्ष मल्लीले एलपी ग्यास संसार भरी नै हरेक क्षेत्रमा सबै भन्दा बढी प्रयोग हुने बस्तुमा पर्ने बताए । उनले नेपालको छिमेकी राष्ट्र भारत तथा बंगलादेशमा समेत खाना पकाउनदेखि विभिन्न ठूलाठूला उद्योगमा प्रचुर रुपमा प्रयोग हुँदै आएको उल्लेख गरे । मल्लीले पछिल्लो समय भुटानले आफ्नै देशमा ७० प्रतिशत भन्दा बढी विद्युत् उत्पादन गर्दासमेत नेपालकै हाराहारीमा एलपी ग्यासको आयात गर्ने गरेको बताए ।

उनले सरकारले नै एलपी ग्यासलाई निरुत्साहित गर्ने कुरा गर्दा खाना पकाउने अत्यावश्यक इन्धन वितरणमा समस्या आउँदा मुलुकलाई थप संकट पर्ने बताए । मल्लीले सरकारले ग्यास उद्योगमा रहेको वर्तमान समस्या समाधानको लागि नीतीगत व्यवस्था गरेर ग्यास उद्योगलाई बचाउन जरुरी रहेको बताए ।

त्यस्तै, कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल आयात निगम घाटामा गएकाले अब पेट्रोलियम पदार्थ तथा ग्यास आयात गर्न नीजी क्षेत्रलाई पनि दिनु पर्ने बताए । उनले नीजी क्षेत्रलाई पनि आयात गर्ने उचित कानुनको व्यवस्था सरकारले गर्नु पर्ने बताए । सरकारले नीजी क्षेत्रलाई पनि आयात गर्नु दिए ग्यास तथा इन्धनको मूल्य बजारले नै निर्धारण गर्ने बताए ।

वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले नीजि क्षेत्रसँग सम्बन्धित नीती बनाउँदा सरोकारवाला निकायलाई पनि सामेल गर्नु पर्ने बताए । यसरी सरकारले नीति बनाउँदा सरकारले बनाएको नीतिले लिएको उदेश्य पुरा हुने तथा व्यवसायीहरुले पनि सहज रुपमा नीतिको पालना गर्ने बताए । सरकारले नीजि क्षेत्र मैत्री नीति बनाउँदा मात्रै बजारले गति लिन सक्ने बताए ।

प्रतिक्रिया