युवा तथा खेलकुद मन्त्रालयको काजमा खटाइएको भन्दै विरोध

काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. देवराज रोकाले मन्त्रिपरिषदले युवा तथा खेलकुद मन्त्रालयको काजमा आफूलाई खटाइएको भन्दै त्यसको विरोध गरेका छन् ।
सर्वोच्च अदालतको अन्तरिम आदेशपछि आज पत्रकार सम्मेलन गर्दै कार्यकारी उपाध्यक्ष रोकाले मन्त्रिपरिषदले युवा तथा खेलकुद मन्त्रालयको काजमा आफूलाई खटाइएको भन्दै त्यसको विरोध गरेका हुन् । उनले उपाध्यक्षबाट हटाइनु राजनीतिक पूर्वाग्रह भएको र यो आफूले गरेका कामदेखि तर्सिएर हटाइएको बताए ।
कार्यकारी उपाध्यक्ष रोकाले आफूलाई मन्त्रालयमा काज गर्ने र तलब भत्ता स्वरोजगार कोषबाट खाने गरी बोलाइएकोले यो आफूलाई स्वीकार्य नहुने बताए । उनले आफूलाई काजमा बोलाउँदा पत्रमा कुनै समय र कुनै पनि स्थानका लागि नबोलाइएको पनि दाबी गरे ।
कार्यकारी उपाध्यक्ष रोकाले सरकारले कोष बन्द गर्ने षड्यन्त्र बनाइरहेको भन्दै कोषलाई बन्द गरे आफू ज्यान दिन तयार रहेको समेत बताए । उनले स्वरोजगार कोष युवाहरुको त्याग र बलिदानले आएको भन्दै छिटो र राम्रो काम गर्दा सरकार नै आफूलाई काम गर्नबाट रोकिरहेको आरोपसमेत लगाए ।
कार्यकारी उपाध्यक्ष रोकाले सर्वोच्चको फैसलालाई पालना गर्ने बताउँदै कोषको नेतृत्वलाई हटाएर मनोमानी गर्न खोजेको बताए । गत कार्तिक १ गते बसेको मन्त्रिपरिषद्को बैठकले कार्यकारी उपाध्यक्षबाट हटाए पछि सर्वोच्चमा मुद्दा दर्ता गराएका रोकालाई मंसिर २६ गते सर्वोच्च अदालतले यथास्थितीमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

प्रतिक्रिया