विवेकशील साझा पार्टीले ‘महाकाली–मेची राष्ट्रिय एकता यात्रा’ गर्ने

काठमाडौं । विवेकशील साझा पार्टीले ‘महाकाली–मेची राष्ट्रिय एकता यात्रा’ गर्ने भएको छ । आज पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा यात्रा सुरु गर्ने जनाएको हो ।
पुष २७ गते पृथ्वी जयन्तीको दिन यात्रा कञ्चनपुरबाट सुरु गरेर् सहिद दिवसको दिन झापामा अन्तय गर्ने विवेकशीलको तयारी छ । माघ १६ गतेसम्म यात्रा चल्ने निर्णय मंगलबार बसेको कार्य सम्पादन समितिको बैठकले गरेको विज्ञप्तिमा उल्लेख छ । विवेकशील साझाको पार्टीको एजेण्डा नागरिकको माझमा पुराउने योजना छ । विज्ञप्तिमा उल्लेख छ, –‘नागरिकहरूका आ–आफ्ना वैचारिक दृष्टिकोण भए पनि “विचारभन्दा माथि देश” नै हो भन्ने भावना प्रवर्द्धन गर्नु, राष्ट्रिय एकता तथा देशको स्वाधीनता, शान्ति, स्थिरता, विकास र दूरगामी हितलाई सुनिश्चित गर्ने विवेकशील साझा पार्टीका एजेण्डा आम सर्वसाधारणसम्म पु¥याउनु, पार्टीको आम नागरिकसँगको सम्बन्धलाई अझ मजबुत बनाउनु र जातीय, क्षेत्रीय तथा धार्मिक रूपमा बढ्दै गएको मनोवैज्ञानिक दूरी कम गर्न सघाउनु राष्ट्रिय एकता यात्राको मूल उद्देश्य हुनेछ ।’
पार्टी अध्यक्ष रबिन्द्र मिश्रले सबैभन्दा माथि देश नै हुने भावना जागृत गराउन महाकालीदेखि मेचीसम्मको यात्रामा निस्कने बताए । अध्यक्ष मिश्र भन्छन्,‘देशको स्वार्थ गौण र राजनीतिकर्मीको स्वार्थ प्रधान हुँदै जाँदा एकतर्फ नेपालको स्वाभिमान अत्यधिक रूपमा क्षयीकृत हुँदै गएको र राजनीतिकर्मीहरूले देशलाई शिरमा नराख्दा सुशासनको अपेक्षा नै गर्न नसक्ने स्थितिमा हामी पुगेका छौँ। त्यसैले सबैभन्दा माथि देश नै हो भन्ने भावना हामी सबैमा जागृत हुनुप¥यो। सो भावना प्रवर्द्धनको शुभारम्भ गर्ने दिन राष्ट्रिय एकता दिवस बाहेक अर्को हुन सक्दैनथ्यो ।’

प्रतिक्रिया