एमसीसीमा भारतको गोरखपुरसम्म लाइन तान्ने कुरा कहाँबाट आयो ?

काठमाडौं । सांसद प्रेम सुवालले अमेरिकी सहायता परियोजना एमसीसीलाई समर्थन गर्नेहरु देशद्रोही भएको बताएका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद सुवाल एमाले सांसदहरुको नाराबाजीका बीच बोलेका थिए ।
उनले नेपाल र अमेरिकाबीचको एमसीसी सम्झौंतामा भारतको गोरखपुरसम्म विद्युत प्रशारण लाईन तान्ने कुरा कहाँबाट आयो ? भन्दै सरकारसँग प्रश्न समेत गरे । उनले नेपालको विद्युत नेपाललाई आवश्यक रहेको बताए । नेपालमा विद्युतबाट चल्ने रेल र विद्युतीय सवारी साधन संचालन गर्न सरकारसँग माग पनि सुवालले गरे ।
सांसद सुवालले भने,–‘नेपालको विजुली भनेको नेपाललाई नै चाहिन्छ । एमसीसी सम्झौंता भनेको नेपालको विजुली भारतहुँदै सिंगापुर लाने हो । एमसीसी सम्झौंताको अनुसूचि ५ (क) मा गोरखपुरसम्म प्रशारण लाईन तान्ने उल्लेख छ । अमेरिका र नेपालको सम्झौंतामा गोरखपुरसम्म विजुलीका लाईन तान्ने कहाँबाट आयो ? कुनै पनि देशभक्त नेपालीले यो देशघाती एमसीसी सम्झौतालाई समर्थन गर्न सक्दैनन् । एमसीसी समर्थन गर्नेहरु देशघाती र देशद्रोही नै हुन । यसमा कुनै फरकै छैन । यो विषयमा सदन र सरकारको ध्यान जाओस् ।’
सांसद सुवालले एमसीसीको विषयमा सरकार र सदनले विशेष ध्यान दिनुपर्ने आवश्यक्ता रहेको बताए । उनले एमालेले अवरोध गरिरहेका बेला संसद बैठक सूचारु गराउन नहुने अडान लिए ।

प्रतिक्रिया