एससीसीबारे सत्तारुढ कार्यदलबीच प्रारम्भिक छलफल

काठमाडौं । एमसीसीबारे साझा धारणा तय गर्न सत्तारुढ गठबन्धनद्वारा गठित कार्यदलले प्रारम्भिक छलफल सुरु गरेको छ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वमा गठित कार्यदलले एमसीसीबारे सत्तारुढ दलबीच समान धारणा तय गर्न छलफल सुरु गरेको हो ।
कार्य दलका संयोजक खनालको डल्लुस्थित निवासमा बसेको पहिलो बैठकमा गरिएको प्रारम्भिक छलफल सकारात्मक रहेको कार्य दलका सदस्य समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । कार्य दलले त्यसलाई छिट्टै निष्कर्षमा पुर्याएर सञ्चार माध्याममार्फत् नेपाली जनतालाई सु-सूचित गर्ने योजना पनि बनाएको छ ।
सत्तारुढ पाँच दलले केही दिन अघि एमसीसीबारे समान धारणा तय गर्न खनालको नेतृत्वमा नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ र कांग्रेस नेतासमेत रहेका मन्त्री कार्की सम्मिलित ३ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले एमसीसीबारे धेरै छलफल गरेको उल्लेख गर्दै निष्कर्षमा अग्रसर हुने गरी छलफललाई अघि बढाएको पनि जनाएको छ ।
कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीलाई पारित गरेर जानुपर्ने पक्षमाछन् भने सत्तासाझेदार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले यथास्थितिमा यसलाई संसदबाट पारित गर्न नहुने धारणा राख्दै आएका छन् ।
यता, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने सत्तारुढ दलहरुको धारणा आएपछि मात्रै एमसीसीबारे आफूहरुले निर्णय लिने बताउँदै आएको छ ।

प्रतिक्रिया