एनएसटीको नयाँ नेतृत्व चुनिँदै, मतदाता भन्छन्- बद्‌नाम होइन राम्रालाई जिताऔं

नेपालखोज २०७८ पुष ८ गते १५:२५

काठमाडौं । नेपाली समाज टेक्सास (एनएसटी) को नेतृत्वका लागि अहिले अमेरिकाको ड्यालास-फोर्थवर्थमा सरगर्मी बढेको छ । एनएसटीको २०२२-२०२३ को नेतृत्वका लागि अहिले उम्मेद्‌वारहरुबीच मत कसरी आफ्नो पक्षमा पार्ने होडबाजी चलिरहेको छ ।

यसै क्रममा नेपाली समाजको टेक्सासको २०२२-२०२३ का लागि अध्यक्षका प्रत्यासीका रुपमा अहिले मिजासिलो स्वभावका कमल सापकोटाले आफूलाई प्रस्तुत गरेका छन् । उसो त उनी सन् २०१५-२०१७ का कार्यसमिति उपाध्यक्षसमेत हुन् । यो कार्यकालका अध्यक्ष कृष्ण लामिछाने निष्क्रिय प्राय: भएपछि सापकोटाले अध्यक्षकै भूमिकामा काम गर्ने अवसर पाए । तसर्थ उनलाई नेतृत्वका लागि आफू सक्षम छु भन्ने पर्नु स्वभाविक हो । तर सापकोटाले आफ्नो कार्यकालमा एनएसटीको आर्थिक अवस्थालाई पूरै घाटामा पुर्याएपछि आफ्नै कार्यसमितिका सदस्यहरुबाट आलोचना खेप्नुपर्यो । अध्यक्षमा उम्मेद्‌वारी दिए पनि पहिलेको गतिविधिले गर्दा उनले जिते एनएसटीले कुन लय समात्ला भन्ने चिन्ता परेको त्यहीँका सदस्यहरु बताउँछन् ।

सामाजिक कार्यमा मानिसहरुले हेर्ने भनेको उसको सामाजिक कार्यमा गरेका विगतका गतिविधि नै हो । यसर्थ एनएसटीभित्र सापकोटाको छवि राम्रो बन्न नसकेको उनकै कार्यसमितिका सदस्यहरुको दाबी छ । सापकोटाको विगतको कार्यकाललाई मूल्यांकन गर्दा, उनको व्यवस्थापकीय अक्षमता र संस्थाको आर्थिक क्षेत्र दूर्गतितर्फ पुन: नदोहोरिएला भन्न सकिँदैन । नेपाली समाज टेक्सासले आफ्नै पहलमा ‘नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र’ को स्थापना गरेको छ । ‘स्थापनादेखि एनएसटी आफ्नै स्रोत साधनयुक्त हुन सकेको छैन । यो गम्भीर समयमा तिनै सापकोटाको नेतृत्वमा एनएसटीले कुन रुप लिएर अगाडि जाला ?’ कार्यसमितिकै एक सदस्यले भने, ‘प्रश्न सबै एनएसटी सदस्यहरुले चुनावको माहोल बढिरहेका बेला सोच्नुपर्ने देखिन्छ ।’

एनएसटी अहिले दुई प्यानल बनाएर चुनावको तयारीमा अगाडि बढेको छ । राजेन्द्र वाग्ले र कमल सापकोटा आ-आफ्नै योजना र कार्यदिशासहित मतदातासामु प्रस्तुत भएका छन् । सापकोटाको तुलनामा वाग्ले भने मतदातामाझ अलि लोकप्रिय मानिन्छन् ।

पहिले फेसबुकमार्फत अध्यक्षको प्रत्यासी भनेर घोषणा गरेकी सामाजिक अभियान्ता आइसा ओझा भने सापकोटाकै प्यानलबाट महासचिव पदमा प्रस्तुत भएकी छन् । ओझा २०१७-२०१९ कार्यकालमा छात्रवृत्ति वितरण समितिको निर्णायक समितिमा बसेर काम गरिसकेकी हुन् । यद्यपि उनी यो समयमा निकै आलोचित पनि बनिन् । उनले यो समयमा आफ्नै भाइलाई एक हजार डलर छात्रवृत्ति दिएपछि, त्यसबेलाको कार्यसमितिले कारबाही गर्ने वा राजीनामा दिएर जाने भनेपछि, उनले पूरा कार्यकाल काम नगरी राजीनामा दिएर एनएसटी छाडेकी थिइन् । अहिले टेक्सासमा एनएसटीको चुनाव लागिरहँदा ‘छात्रवृत्ति काण्ड’ का रुपमा उनको पदीय मर्यादाविपरीतको कामको चर्चा चुलिएको छ । ‘नेतृत्व चुन्ने यो वेला नेपाली समाज टेक्सासका सदस्यहरुले विगतलाई सम्झिन र उम्मेद्‌वारका विगत हेर्नुपर्ने महत्त्वपूर्ण देखिन्छ,’ एक सदस्य भन्छन् ।

संस्थामा युवाहरुको सक्रिय उपस्थितिको आवाज नेपालदेखि विश्वभर जताततै देखिन्छ । एनएसटीको दुवै प्यानलमा युवाहरुको उपस्थितिलाई प्राथमिकतामा राखेर अगाडि बढेका छन् । त्यही माहोलमा सापकोटा प्यानलबाट वरिष्ठ-उपाध्यक्षका रुपमा राजीव राजभाट उम्मेद्‌वारी दिएका छन् । एनएसटीको २०१७-२०१९ को कार्यकालमा कार्यकारी सदस्यमा निर्वाचित भएर त्यसपछि कुनै पनि बैठकमा उपस्थित नभएको कार्यसमितिकै सदस्यहरु बताउँछन् । उनले एनएसटीमा बसेर मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरी व्यक्तिगत लाभ लिन नपाएपछि बैठकमै उपस्थित नभएको बताइन्छ ।

नेपाली समाज टेक्सासको आगामी निर्वाचनमा समाजमा काम गर्न नसकेका र काण्ड मच्चाएका पनि देखिएका छन् । मतदाताहरु पनि हाम्रा होइन राम्रालाई विजयी बनाउने तरखरमा छन् । निर्वाचन प्रक्रियामा होमिएको नेपाली समाज टेक्सासका मतदाताहरुले सक्षम र विगतमा स्वच्छ छवि भएका व्यक्ति जसले एनएसटीलाई उचाइमा लैजान सक्ने नेतृत्व चयन गर्नु अहिलेको आवश्यकता देखिएको छ ।

एनएसटीको निर्वाचन डिसेम्बर २६ मा हुँदै छ । तीन हजार नौ सय ९१ मतदाताले मतदानमार्फत नयाँ नेतृत्व चयन गर्दै छन् ।

प्रतिक्रिया