सन्त नेता भट्टराईलाई यसरी सम्झिइयो

काठमाडौं । सन्त नेता कृष्णप्रसाद भट्टराई ( किशुनजी) को आज ९८औं जन्मदिन हो । यस उपलक्ष्यमा किशुनजीप्रति असिम श्रद्धा अर्पण गर्दछु । राष्ट्रियता र प्रजातन्त्रप्रति अटल आस्था राखेर आजीवन संघर्ष गर्ने किसुनजीका विचार र उहाँले भोग्नुभएका घात र प्रतिघातहरुको संस्मरणले नेपाली राजनीतिलाई संग्ल्याउन प्रेरणा देओस् ।
रामचन्द्र पौडेल
नेपाली कांग्रेसका पूर्व-सभापति, पूर्व-प्रधानमन्त्री, सन्त नेता श्रद्धेय कृष्णप्रसाद भट्टराईज्यूप्रति उहाँको जन्म जयन्तीको पावन अवसरमा हृदयदेखि नै श्रद्धासुमन अर्पण गर्दछु ।
शशांक कोइराला
सन्त नेता कृष्णप्रसाद भट्टराई को ९८औ जन्म जयन्तीको उपलक्ष्यमा उहाँ प्रति भावपुर्ण हार्दिक श्रद्दाशुमन व्यक्त गर्दछु।जय नेपाल।
प्रकाशमान सिंह
नेपाली कांग्रेसका संस्थापक नेता, नेपालका पहिलो सभामुख, नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्वप्रधानमन्त्री श्रद्धेय नेता कृष्णप्रसाद भट्टराईको जन्मजयन्तीको अवसरमा म उहाँमा हृदयदेखि नै श्रद्धासुमन अर्पण गर्दछु ।
नेपालको राजनीतिमा सन्त नेताको रुपमा परिचित श्रद्धेय नेता भट्टराईको लोकतन्त्रप्रति समर्पित जीवन, उहाँको त्याग, उहाँको बौद्धिक तीक्ष्णता, राजनीतिक चातुर्य, सागदीपन, मिजासिलो व्यबहार, हँसिलो मुहार, सबैलाई समेट्न सक्ने कला, कार्यकुशलता र कार्य सम्पादन शैली नेपाली कांग्रेसका नेता र कार्यकर्ताहरुका लागि सदा अनुकरणीय रहेका छन् ।
नेपालमा लोकतन्त्रको बहालीको लागि नेपाली कांग्रेसको स्थापना र २००७ सालको जनक्रान्तिमा उहाँले खेल्नुभएको अग्रणी भूमिका, नेपालको पहिलो सभामुखको रुपमा उहाँले गर्नुभएको कार्य सम्पादन, २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि भोग्नुभएको जेल जीवन, लोकतन्त्रको पुनर्बहालीको लागि भएको संघर्ष, २०४६ सालको जनआन्दोलनको नेतृत्वदायी भूमिका,अन्तरिम सरकारको कुशल नेतृत्व र एक बर्षभित्रै संविधान जारी गरी आम निर्वाचन सम्पन्न गरेर पुन:स्थापित लोकतन्त्रलाई संस्थागत गर्न उहाँले गर्नुभएको योगदान नेपालको राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिने छ ।
लोकतन्त्रको स्थापना र पुनःस्थापनाका साथै लोकतान्त्रिक संस्कृतिको विकासमा उहाँले गर्नुभएको त्याग,तपस्या र योगदान नेपालको राजनीतिक इतिहासमा चीरकाल पर्यन्त स्मरणीय रहने मैले विश्वास लिएको छु ।
डा. प्रकाशशरण महत
कुनै पनि पद भन्दा माथीका आदरणीय सन्त नेता श्रद्धेय कृष्णप्रसाद भट्टराई ज्यु प्रति उहाँको जन्म जयन्तीको पावन अवसरमा हृदय देखि नै श्रद्धासुमन अर्पण गर्दछु ।
चन्द्र भण्डारी
नेपाली राजनीतिका निष्ठा र नैतिकताका धरोहर नेपाली काङ्ग्रेसका पूर्वसभापति तथा पूर्व प्रधानमन्त्री श्रध्देय श्री कृष्णप्रसाद भट्टराईको ९८औं जन्म जयन्तीको अवसरमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली ।
डिला संग्रौला
नेपाली कांग्रेसका पूर्व-सभापति, पूर्व-प्रधानमन्त्री, सन्त नेता श्रद्धेय कृष्णप्रसाद भट्टराईज्यूप्रति उहाँको ९८औं जन्मजयन्तीको पावन अवसरमा हृदयदेखि नै श्रद्धासुमन अर्पण गर्दछु ।
बालकृष्ण खाँड
सम्झना र श्रद्धाञ्जलि !
सन्तनेता कृष्णप्रसाद भट्टराई (किशुनजी) जीवित हुनुहुन्थ्यो भने आज ९८ वर्षमा प्रवेश गर्नुहुन्थ्यो । उहाँ हुनुहुन्न । उहाँले अधिकांश बैगुनी र परपीडकहरूले बसोबास गरेको यो सुन्दर देश र दुनियाँलाई पनि टाटा बाइबाई गरेर अनन्त-यात्राको लामो बाटो समातेको पनि दिव्य १२ वर्ष हुन लाग्यो ।
किशुनजी करोडौँमा एक हुनुहुन्थ्यो व्यक्ति र नेता दुवै रूपमा । उहाँको व्यक्तित्वको यस्तो जादू थियो: बिस्तारै बिस्तारै चरम् स्वार्थी निकृष्ट मानिसहरूको हालिमुहाली कायम हुँदै गएको नेपाली कांग्रेसको धुक्धुकी उहाँ त्यस पार्टीमा हुनुहुन्छ भनेकै कारणले चलिरहेको थियो । उहाँले महाप्रस्थान गरेपछि नेपाली कांग्रेस मात्र होइन नेपाली राजनीतिको लोकतान्त्रिक धार समग्र नै टुहुरो भएको छ ।
उहाँको जीवन नै उहाँले लिनुभएको आदर्श र सत्य निष्ठाको दृष्टान्त थियो । म जस्ता लाखौँ मानिसहरूका प्रेरणाको स्रोत हुनुहुन्थ्यो उहाँ । उहाँकै प्रेरणाले नेपाली कांग्रेससँग वैचारिक रूपले जोडिएको हुँ म पनि । उहाँको अनुपस्थिति र अहिलेको कांग्रेसको विपथगामिता देखेर म हतप्रभ भएको छु, बिलखबन्दमा परेको छु ।
किशुनजीको ९८यौँ जन्मजयन्तिका उपलक्ष्यमा म उहाँको सुकीर्तिमय व्यक्तित्वको हार्दिक सम्झना गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु । किशुनजीका प्रियपात्र रहँदै आउनु शेरबहादुर देउवाले पार्टी सभापतिका रूपमा दोस्रो कार्यकाल शुरू गर्न लाग्नु भएको यस घडीमा उहाँले पार्टीलाई किशुनजीको चित्त नदुख्ने गरी सञ्चालन गरेर लैजानु हुनेछ भन्ने अपेक्षा गरेको कुरा पनि सार्वजनिक गर्न चाहन्छु ।
हरि अधिकारी
नेपाली राजनीतिका निष्ठा र नैतिकताका धरोहर नेपाली काङ्ग्रेसका पूर्वसभापति तथा पूर्व प्रधानमन्त्री श्रध्देय श्री कृष्णप्रसाद भट्टराईको ९८ ओै जन्म जयन्तीको अवसरमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली।
डा. मीनेन्द्र रिजाल
आदरणीय नेता कृष्णप्रसाद भट्टराईको ९७ औ जन्मजयन्ती पौष ८ गते । हार्दिक नमन !
योगेश भट्टराई
नेपाली कांग्रेसका संस्थापक नेता, पूर्वसभापति एवं प्रधानमन्त्री, सन्त नेता कृष्णप्रसाद भट्टराई (किसुनजी)को ९८औं जन्मजयन्तीको अवसरमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँको दर्शनले कांग्रेसलाई सधैं बाटो देखाइरहोस् ।
विनोद चौधरी
नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री आदरणीय नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) को ९८औं जन्मजयन्तीका अवसरमा उहाँ प्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।
दिलेन्द्र बडू
प्रजातान्त्रिक आन्दोलनका अटल व्यक्तित्व, नेपाली कांग्रेसका पूर्वसभापति, पूर्वप्रधानमन्त्री एवं सादा जीवन, उच्च विचारका परिचायक सन्तनेता कृष्णप्रसाद भट्टराई (किसुन जी) ज्यूको ९८औं जन्मजयन्तीका अवसरमा उच्च सम्मानसहित श्रद्धासुमन अर्पण गर्दछु ।
इन्द्र बानियाँ
नेपालका पूर्वप्रधानमन्त्री, नेपाली कांग्रेसका पूर्वसभापति एवं श्रद्धेय सन्त नेता कृष्णप्रसाद भट्टराई प्रति वहाँको जन्म जयन्तीको पावन अवसरमा हृदयदेखिनै हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु ।
कल्याण गुरुङ
आज सन्तनेता (किसुनजी) कृष्णप्रसाद भट्टराईको ९७ औं जन्म-जयन्ती । अर्थात उहाँको जन्मको हिसाबले आजबाट ९७ वर्ष पूरा भई ९८ वर्ष प्रवेश भयो ।
किसुनजीसँगका विभिन्न प्रसंगका रोचक क्षणहरू स्मृतिमा ताजै छन् । नेपाली राजनीतिकै निष्ठा, सदाचार र आदर्शवादी नेता भट्टराईसँग निकट रहेर काम गर्न पाउनु मेरो लागि गौरवको विषय हो । कांग्रेस र सिङ्गो नेपाली राजनीतिको आजको दयनीय अवस्थामा यो देशमा किसुनजी जस्ता महान आदर्शवादी नेता पनि कुनै वेला थिए भनेर सम्झँदा मन यसै भावुक वन्दछ ।
नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेसमा रहेर उहाँले खेल्नु भएको उच्च योगदानको कदर न देशले, न उहाँले जीवन विताएको पार्टी नेपाली कांग्रेसले नै गरेको छ । आज उहाँको जन्म दिनको अवसरमा नेपाली कांग्रेस पार्टीले कतै कार्यक्रम गरेको समाचार पढ्न पाइने छैन ।
निश्चय: नै स्वामी आनन्द अरूणको शब्दमा भन्ने हो भने ‘द्वापर युगमा भगवान कृष्णको निधन पछि कलियुगको प्रारम्भ भयो भने ०४८ सालमा कृष्णप्रसाद भट्टराईको पराजयले नेपाली राजनीतिमा कलियुगको प्रारम्भ भयो।’ कृष्णप्रसाद भट्टराईको कांग्रेस पार्टी परित्यागले कांग्रेसको जीवनमा कलियुग प्रारम्भ भएको अनुभूति हुन्छ ।कांग्रेसको जीवनमा बीपी, गणेशमान सिंह र किसुनजीको विचार, मूल्य र जीवनगाथा हराएको छ । जन्म जयन्तीको अवसरमा सन्तनेता श्रद्धेय किसुनजीलाई सत्सत् नमन् गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।
लोकेश ढकाल
उहाँ नेपालको पहिलो जनक्रान्तिका शीर्ष मध्येका एक नेता ।
कांग्रेसका संस्थापक संगठन मन्त्री, युगवाणी र नेपाल पुकारका सम्पादक, नेपाल पत्रकार संघका संस्थापक सभापति,पहिलो सभामुख, १५ वर्ष जेल व्यतित गर्ने स्वतन्त्रता सेनानी, २०३४ देखि २०५३ सम्म अनवरत कांग्रेस सभापति, नेविसंघका प्रवर्तक, २०४६ को आन्दोलनका नेता र त्यसपछिका प्रधानमन्त्री ।
उहाँ मेरा लागि एक प्रेरणापुञ्ज र आत्मीय अभिभावक हुनुहुन्थ्यो ।
२०४८ सालमा उहाँ प्रधानमन्त्रीनिवास बालुवाटार छाडेर बाहिरिँदाको अवस्था झल्काउँदै साप्ताहिक नेपाली आवाजको कार्यकारी सम्पादकको रुपमा मैले लेखेको समाचारले उहाँको नयाँ विम्ब स्थापित भयो- छाता, सुराही र ट्यांका बोकेर बाहिरिने सदाचारका प्रतिमूर्ति ।
आजको पुस्ताले उहॅालाई सम्झने आधार नै सदाचारी नेताको रुपमा यही विम्ब वनेको छ।
उहाँको एक अनुयायीको रुपमा आफूलाई आत्मसन्तोष हुन्छ।धन्य छु।
भावपूर्ण श्रद्धान्जली किसुनजी !!
तारानाथ दाहाल
आज किशुनजीलाई सम्झदा,
झल्झली २०४७ साललाई सम्झन्छु :
कांग्रेसीले संझेकी समंझेनन् …….?
९८ औ जन्म जयन्तिको दिन हार्दिक श्रद्धा सुमन ।
रमा सिंह
प्रधानमन्त्री भएर बालुवाटारमा जाँदा एउटा भागवत गिताको पुस्तक, एउटा छाता, सानो टिनको बाक्सा र पानी पिउने माटोको सुरही लिएर गएका कृष्णप्रसाद भट्टराई बालुवाटारबाट बाहिर निस्कँदा पनि तिनै सामान बोकेर फर्कनुभएको थियाे । २ पटक नेपालको प्रधानमन्त्री भएका ब्यक्तिको कुनै पनि बैंकमा खाता थिएन् । एक आना जमीनको लालपुर्जा थिएन् ।आफै प्रधानमन्त्री हुदा पार्टी भित्र कै अन्तर्घातले निर्बाचन हार्दा पनि सहेर बस्ने । पार्टी बिभाजित भएर मुलुक दुर्घटनामा पर्ला भन्ने पिरलोले आफै पार्टी बाट अलग हुनु भएका उनै माहात्यागी , सन्त नेता कृष्णप्रसाद भट्टराईको जन्मजयन्तीको सन्दर्भमा हार्दिक श्रद्धाञ्जली ।
नारायण शर्मा
नेपाली काङ्ग्रेसका संस्थापक नेता, पूर्व सभापति एवम् प्रधानमन्त्री, आदर्श र त्यागका प्रतिमूर्ति सन्त नेता कृष्ण प्रसाद भट्टराई ( किशुनजी) को ९८औं जन्म जयन्तीको अवसरमा उहाँप्रति असिम श्रद्धा अर्पण गर्दछु ।
प्रदीप पौडेल

प्रतिक्रिया