शिक्षक सेवामा साढे १७ हजार अपुग दरबन्दी खुल्ला गर्ने तयारी

काठमाडौं । शिक्षा मन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवामा साढे १७ हजार अपुग दरबन्दी खुल्ला गर्ने तयारीमा सरकार रहेको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री पौडेलले शिक्षक सेवा आयोगलाई सक्रिय बनाएर साढे १७ हजार शिक्षकको दरबन्दी अपुग रहेकाले खुल्ला गर्ने तयारीमा रहेको बताएका छन् ।
उनले माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक तहमा शिक्षक सेवा आयोगले दिएको दरबन्दी आवश्यकता पुरा गर्ने गरी विज्ञापन खुल्ला गरिने बताएका छन् । मन्त्री पौडेलले ५ वर्ष शिक्षक सेवा दिएर बढुवा हुनु पर्ने नियमअनुसार बढुवा गर्ने तयारीमा रहेको पनि बताए । उनले शिक्षक सेवा नियमावली मन्त्रीपरिषद्बाट पारित भइसकेको बताए ।
मन्त्री पौडेलले बैंठकमा सांसद्हरुले उठाएको एसईई परिक्षा प्रणाली खारेज गर्ने विषममा सरोकारवाल निकायहरुसँग छलफल भईरहेको बताए । उनले सरकारले यस अगाडि नै कक्षा १२ सम्म विद्यालय तह घोषणा गरेकाले एसईई गर्ने कि नगर्ने भन्ने विषयमा मन्त्रालयमा दैनिक जस्तो सरोकारवाला निकायहरुसँग छलफल गरिरहेको बताए । उनले यो विषयमा मन्त्रालयले कसैको दवाबमा काम नगर्ने बताए ।
त्यस्तै, मन्त्री पौडेलले प्रारंभिक बालशिक्षा पढाउने शिक्षकलाई ६ हजार तलबमा काम गर्नु लगाउनु अन्याय भएको बताएका छन् । उनले मन्त्रालय सरकारले श्रमिकलाई तोकेको तलब दिनुपर्छ भन्ने पक्षमा रहेको बताए । मन्त्रालयले सरकारले तोकेको तलब दिने भनेर निर्णय गरेको तर केही पालिका लागू नभएको बताएका छन् ।

प्रतिक्रिया