‘विधिको शासन कायम गर्न विद्यमान कानुनहरुको प्रभावकारी कार्यान्वयन गर्नु आवश्यक’

नेपालखोज २०७८ पुष ८ गते १८:२९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विधिको शासन कायम गर्न विद्यमान कानुनहरुको प्रभावकारी कार्यान्वयन गर्नु आवश्यक रहेको बताएका छन् ।

बिहीवार महान्यायाधिवक्ताको कार्यालयको ७१औँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मुलुकमा विधिको शासन कायम गर्नका लागि विद्यमान कानुनहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिएका हुन् ।

उनले विधिको शासन र कानुनी राज्य लोकतन्त्रको आधारशिला भएको उल्लेख गरे । मुलुकको शासन प्रभावकारी र पूर्वाग्रहरहित ढंगले चलाउनु राज्यको महत्वपूर्ण जिम्मेवारी भएको उनले बताए ।

उनले भने– ‘विधिको शासन, कानुनी राज्य लोकतन्त्रको आधारशिला हो । मुलुकको समृद्धि, विकास र मानव अधिकारको संरक्षण विधिको शासनमा निर्भर रहन्छ । तसर्थ विधिको शासन कायम गर्न विद्यमान कानुनहरुको प्रभावकारी रुपमा कार्यान्वयन गर्नु आवश्यक छ । मुलुकको शासन प्रभावकारी, पूर्वाग्रहरहित कार्यान्वयन राज्यको प्राथमिक, महत्वपूर्ण जिम्मेवारी अन्र्तगत पर्दछ । अपराध संहितालगायतका नयाँ फौजदारी कानुनको प्रभावकारी कार्यान्वयन र मानव अधिकारको संरक्षण गरी कानुनी शासनको सुनिश्चितता गराउने कार्यमा यो सिंगो संस्थाको र सरकारी वकिलहरुको महत्वपूर्ण भुमिका हुनेछ ।’

महान्यायाधिवक्ताको कार्यालयले स्थापना कालदेखि नै विधिको शासन प्रवर्द्धन गर्ने काममा भूमिका खेलिरहेको उनको भनाई छ । उनले कानुनको प्रभावकारी कार्यान्वयन र मानव अधिकारको संरक्षणमा महान्यायाधिवक्ताको कार्यालय र सरकारी वकिलहरुको भुमिकाको प्रशंसासमेत गरे ।

प्रतिक्रिया