त्रिचन्द्र क्याम्पसमा ड्रिंकिङ वाटर ट्रिटमेन्ट प्लान्ट

नेपालखोज २०७८ पुष ९ गते १६:३५

काठमाडौं । हेल्पिङ ह्याण्ड फर रिलिफ एण्ड डेभलपमेण्ट नामक एक समाजिक संस्थाले त्रिचन्द्र क्याम्पसमा ड्रिंकिङ वाटर ट्रिटमेण्ट प्लान्ट सञ्चालन गरेको छ । आज काठमाडौंको घण्टाघरस्थित एक कार्यक्रममा हेल्पिङ ह्याण्ड फर रिलिफ एण्ड डेभलपमेण्टले क्याम्पसमा सो प्लान्ट सञ्चालन गरेको हो ।

कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नाम मात्रको मिनिरल वाटर भइरहेको यो बेलामा स्वच्छ पानीको व्यवस्था गरिनु महत्वपूर्ण काम भएको बताए । उनले पानीको महत्वलाई बुझेर गुणस्तर र मापदण्डलाई चेकजाँच गरेर क्याम्पसमा शुद्ध पिउने पानीको व्यवस्था मिलाएकोमा संस्थाको प्रशंसा गरे ।

अध्यक्ष भने,–‘यो प्लान्टले के सावित गर्छ भने अहिलेको अवस्थामा पानीको जुन महत्व छ, जुन स्वच्छ पानीको कुरा छ, मिनिरल वाटर हामी सहजैसँग बोतल वा जारको लिन्छौँ, तर त्यो नामको मात्रै मिनिरल वाटर हुन्छ, कतिपय राम्रो पनि छ । तर कतिपय नामको मात्रै हुन्छ र आफ्नो आत्मालाई चाहिने स्वच्छ पानी खान सकिरहेका छैनौँ । सन्तुष्टि दिलाउनको लागि मात्रै खाइरहेका छौँ । त्यो भन्दा राम्रो हामीले नर्मल पानी बोइल्ड गरेर खायो भने हुन्छ । अहिले गुणस्तर मापदण्डलाई चेकजाँच गरेर क्याम्पसमा शुद्ध पानी पिउने व्यवस्था मिलाउनु काम उत्कृष्ट छ ।’

कार्यक्रममा हेल्पिङ ह्याण्ड फर रिलिफ एण्ड डेभलपमेण्टका संयोजक तथा पूर्वविद्यार्थी आरिफ अन्सारीले विद्यार्थीहरुलाई पिउने पानीको व्यवस्था नहुँदा अनेक समस्या झेल्नुपरेको बताए । हेल्पिङ ह्याण्ड फर रिलिफ एण्ड डेभलपमेण्टले देशभरका विभिन्न ८० भन्दा धेरै क्याम्पसहरुमा प्लान्ट स्थापना गरेको र काठमाडौंका वाल्मीकि क्याम्पस, महानगरीय प्रहरी कार्यालय र पाटन संयुक्त क्याम्पसमा प्लान्ट राख्ने योजना रहेको जनाएको छ ।

संयोजक अन्सारीले भने,–‘पहिला पानी पिउने व्यवस्था थिएन, घरबाट नै विद्यार्धीहरुले पानी बोकेर आउनु पर्ने बाध्यता थियो, त्यसैले अहिले हामीले त्यो बाध्यता हटाउनका लागि प्रशोधित पिउने पानीको व्यवस्था गरेका छौँ । यो १० वर्षसम्म चल्छ, राम्रोसँग चलाएमा त्यो भन्दा धेरै चल्छ । हामीले अहिले देशभरका ८० भन्दा धेरै विद्यालय, क्याम्पसहरुमा प्लान्ट राखेका छौँ । ५० वटा राख्दैछौँ । काठमाडौंमा अझै ३ ठाउँमा राख्दैछौँ । वाल्मीकि क्याम्पस, मेट्रोपोलिशन पुलिस अफिस रानीपोखरी र पाटन मल्टिपल क्याम्पसमा राख्नेछौँ ।’

विद्यार्थीहरुले घरबाटै पानी बोकेर आउनु पर्ने बाध्यता हटेको र बोतलमा भरेर विद्यार्थीहरुले पानी घर लिएर जानसक्ने गरी क्याम्पससँग सम्झौता भएको संयोजक अन्सारीले बताए ।

प्रतिक्रिया