राष्ट्रिय ख्रिस्टियन महासंघले भोलि ‘ख्रिस्टमस डे’ मनाउने

काठमाडौं । राष्ट्रिय ख्रिस्टियन महासंघ नेपालले भोलि राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा ख्रिस्टमस मनाउने बताएको छ । ख्रिस्टमसको पूर्व सन्ध्यामा आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर महासंघले यस्तो जानकारी दिएको हो ।
महासंघले भोलि आयोजना गर्ने कार्यक्रम ‘येशु ख्रीष्टको शुभजन्मोत्सव ख्रिस्टमस २०७८ तथा नयाँ वर्ष २०२१ को शुभकामना आदानप्रदान’ नाम दिएको छ । महासंघले डिसेम्बर २५ अर्थात् ‘ख्रिस्टमस डे’ सारा मानव जातिका मुक्तिदाताको रुपमा तथा सबै मानवलाई परमेश्वर पितासँग मिलाप गराएका मुक्तिदाता, उद्धारकर्ता तथा शान्तिदाता प्रभु येशु ख्रीष्टको जन्मदिनको रुपमा मनाउँदै आईएको पनि जनाएको छ ।

हर्षोल्लासको साथ साताव्यापीरुपमा विश्वभर मनाइने ख्रिस्टमसको उपलक्ष्यमा सम्पुर्ण नेपालीमा प्रेम, शान्ति, एकता, भाइचारा, सुख एवं समृद्धिका लागि महासंघले शुभकामना पनि दिएको छ । कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष सिबी गहतराजले ख्रिस्टमसको अवसरमा सबैलाई शुभकामना दिए । उनले विगत लामो समयदेखि बाटो–बाटोका हरियो रुखमा बत्ति बाल्दै नेपालमा १०औं हजार चर्चमा ख्रिस्टमस मनाइँदै आएको उल्लेख गरे ।

गहतराजले ख्रिस्टमसको पुर्वसन्ध्यामा सप्ताहव्यापी रुपमा देशभरका विभिन्न तहमा कार्यक्रमको आयोजना गरेर येशु ख्रीष्टको जन्मोत्सव मनाइरहेको बताए । उनले भोलि देशव्यापी रुपमा कमलादी प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रम २ बजेपछि सुरु हुने पनि जनाए । अध्यक्ष गहतराजले कार्यक्रमलाई सफल पारिदिन सम्बन्धित निकायलाई आग्रह समेत गरे ।

गहतराजले २०६३ सालदेखि क्रिसमसको सार्वजनिक विदा पाइएपनि कहिले पाउने र कहिले नपाउने गर्दा अत्यन्तै दुःख लागेको सुनाए । यसवर्षको विदाको लागि हिजो मात्र पनि गृहमन्त्रालयसँग कुरा राख्दा मन्त्रिपरिषद्मा पठाइएको सुचना पाएको बताए । उनले क्रिसमसको अवसरमा यो वर्ष मात्र नभएर सधै २ दिन सार्वजनिक विदा दिन पनि सरकारसँग आग्रह गरे । प्रभु येशु ख्रीष्टको जन्मोत्सव संसारमा सबैभन्दा धेरै मानिसहरुले मनाउने समेत उनले जिकिर गरे ।
ख्रिस्टमस तथा अंग्रेजी नयाँ वर्ष २०२१ को उपलक्ष्यमा प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रपति विद्यादेवी भण्डारी तथा धेरै उच्च व्यक्तित्वहरुलाई अतिथिको रुपमा निमन्त्रणा दिएको उनले सुनाए । अर्को वर्ष विश्वकै सबैभन्दा अग्लो धरहरा भन्दा ख्रिस्टमस–ट्री बनाउने योजना भएको अध्यक्ष गहतराजले सुनाए ।

कार्यक्रममा महासंघकी सहअध्यक्ष रिता थापाले संसारभरिको इसाईहरुले ख्रिस्टमस चाड मनाउने बताइन् । येशु ख्रीष्ट सम्पुर्ण राष्ट्र र मानव जातिको दाता भएको भन्दै प्रभु ख्रीस्टको जन्म मानिसहरुको उद्धारकर्ताको रुपमा भएकोसमेत जिकिर गरिन् ।
उनले ख्रिस्टमस नेपालमामात्र नभएर संसारभरि रहेका मानिसहरुले मनाउने उल्लेख गरिन् । नेपाली इसाई धर्मालम्बीहरुले अन्य धर्मालम्बीहरुले जस्तै सेल रोटी खाएर ख्रिस्टमस चाड मनाइने सुनाइन् । प्रभु ख्रष्टिको जन्म सारा मानवको मुक्तिदाताको रुपमा भएको उनको भनाई थियो । ख्रिस्टमस–ट्री प्रयोग गर्नुको कारण हरियालीको लागि भएको उनको भनाई छ ।

त्यस्तै, गैरआवासीय विभागका प्रमुख डा. प्रकाश मेघी गुरुङले अमेरिकामा बसेको १७ वर्षको अनुभवमा कुनैपनि वर्ष नेपालमा आएर ख्रिस्टमस मनाउने अवसर नपाए पनि यसपाली त्यो मौका पाउँदा खुशी लागेको सुनाए । उनले धेरै शक्तिशाली मानिसहरु जन्मे र सबैको मृत्यु भएर उनीहरुको शव चिहानमा भएको बताउँदै येशु ख्रीष्ट भने सधैँ जिवित भएको जिकिर गरे ।

येशुको मृत्युमा स्वर्गदुत र गोठालाहरुले खुशी मनाएको सुनाए । उनले आज पनि इसाईहरु त्यही खुशी मनाइरहेको सुनाए । अमेरिकामा ख्रिस्टियन जम्मा ३३ प्रतिशत मात्रै रहेको भन्दै उनले ख्रिस्टमसमा भने निकै झिलिमिली र भव्य रुपमा मनाउने सुनाए । उनले येशु ख्रीष्टको जन्म मानिसहरुलाई जीवन दिन भएको बताए । ख्रिस्टियनहरुमा एकआपसमा भाइचारा हुनु पर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया