‘प्रतिक्रान्तिकारीहरु अझै षड्यन्त्रकै प्रक्रियामा’

नेपालखोज २०७८ पुष ९ गते १६:३०

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रान्तिकारीहरु अझै पनि षड्यन्त्रकै प्रक्रियामा रहेका बताएका छन् । शुक्रबार नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रतिक्रान्तिकारी र प्रतिगमनकारीहरु राजनीतिक परिवर्तनहरुलाई उल्ट्याउने षड्यन्त्रमा लागको भन्दै अझै पनि ढुक्क हुने स्थिति नरहेको बताए ।

राजनीतिक परिवर्तनहरुलाई जोगाउन क्रान्तिका पक्षधर शक्तिहरु एकजुट भएर अगाडी बढ्नुपर्ने उनले बताए । कम्युनिष्ट पार्टीहरुबिचमा एकता भए मात्रै प्रतिक्रान्तिलाई रोक्न सकिने उनले उल्लेख गरे ।

उनले अवसरवादीहरु पार्टी प्रवेशको नाउँमा गाउँमा केही मान्छेहरुको सिला खोज्दै हिडेको टिप्पणी गरे । उनले आफ्नो पार्टीमा मानिसहरुको प्रवेश हुनुलाई सुनारको सय चोट लोहारको एकै चोट भन्ने उखानको उदाहरण दिँदै लोहारको एक चोटको संज्ञा दिए ।

अध्यक्ष दाहालले नेकपा (एमाले)ले धाक दिदैँ हिडेको भन्दै आगामी निर्वाचनमा उनीहरुको हालत जनताले देखाउने टिप्पणी गरे । अध्यक्ष दाहालले गठबन्धनका राजनीतिक दल र दलका नेताहरुसँग आफुहरुको कुनैपनि प्रकारको वैरभाव नरहेको बताए ।

माओवादीले गठबन्धनलाई बलियो बनाउन लगातार प्रयास गरिरहेको पनि उनले बताए । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच पार्टी एकिकरण भएको घोषणा गरिएको हो । नेकपा मसाल (सम्पर्क केन्द्र) का तर्फबाट नेतृत्व लोकेन्द्र लम्सालले गरेका छन् ।

प्रतिक्रिया