रतुवामाई वृक्षरोपण आयोजनाका मसलाका रुख काटिए

नेपालखोज २०७८ पुष १० गते ७:२६

झापा । रतुवामाई वृक्षरोपण आयोजनामा लगाइएको मसला जातको रुख कटान सुरु गरिएको छ । शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा रहेको सो वनमा १५ वर्ष अवधि पुगेका मसलाका रुख कटान सुरु गरिएको हो ।

कार्यालयका सूचना अधिकारी भक्तिप्रसाद गौतमले नयाँ टिक जातका बिरुवा लगाउने योजना अनुरुप मसलाको रुख कटान गर्न थालिएको बताए । उनले शिवसताक्षी नगरपालिका–१० पूर्वपश्चिम राजमार्ग उत्तर रहेका क्षेत्रका रुख धमाधम कटान गरिरहेको बताए ।

दुई हजार ७५३ हेक्टर क्षेफलमा फैलिएको सो वनमा ५० हजार हेक्टरमा १५ वर्षअघि सिसौका रुख हटाएर मसला जातको विरुवा लगाइएको थियो । कटान गरिएको रुखमध्ये स्थानीय उपभोक्तालाई २५ प्रतिशत बिक्री गरिन्छ भने ५० प्रतिशतमा टेण्डर आह्वानद्वारा बिक्री गरिने उनको भनाइ छ ।

बाँकी रहेको २५ प्रतिशत वन पैदावर विकास समिति काठमाडौंलाई हस्तान्तरण गरिनेछ । उनले मसला जातको काठको मूल्यभन्दा टिककोे मूल्य महँगो हुने र छिटो हुर्कने हुँदा कटान गरिएको क्षेत्रमा टिक जातको बिरुवा लगाउने बताए । मसलाको काठको बजार मूल्य हाल प्रति क्यूफिट रु ३०० देखि ६०० सम्म रहेको उनले बताए ।

वन क्षेत्रमध्येको १० प्रतिशत जमिनमा कदम, २० प्रतिशतमा टिक र १० प्रतिशतमा विभिन्न प्रजातिका रुख लगाइएको छ । उनले आयोजनाले ढलापढा रुख बेचेर मात्र वार्षिक एक करोड ५० लाख रूपैयाँ आम्दानी गर्दै आएको बताए । उनले हाल वन क्षेत्रको ६३ हेक्टर जमिन भने अतिक्रमणको चपेटामा परेको जानकारी दिए ।

प्रतिक्रिया