सबैको सभापति मै हुँ, सबैको भावनालाई कदर गरेर पार्टी चलाउँछु

नेपालखोज २०७८ पुष १० गते १३:४३

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबैको भावनालाई समेटेर पार्टी सञ्चालन गर्ने बताएका छन् । आज केन्द्रीय निर्वाचन समितिले आयोजना गरेको प्रमाणपत्र वितरण कार्यक्रममा सभापति देउवाले सबैको सभापति भएर काम गर्ने बताए ।

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले आफूलाई भोट हाल्नेको मात्र सभापति नहुने स्पष्ट पारे । उनले भोट नहाल्नेको पनि सम्मान गर्ने बताए । उनले भने,–‘मलाई भोट हाल्ने वा नहाल्ने सबैको सभापति मै हुँ । सबैको भावनालाई कदर गरेर म पार्टी चलाउँछु । यसमा सबैले सहयोग गर्नुहोला ।’

सभापति देउवाले महाधिवेशनका सबै तीतामिठा क्षण बिर्सेर पार्टीलाई सुदृढ बनाउन सबै सक्रिय हुनुपर्ने बताए । सभापति देउवाले कांग्रेस देशकै सबैभन्दा समावेशी पार्टी बनेको भन्दै तल्लो तहदेखि नै महिला, आदिवासी, जनजाति, दलित, मुस्लिम, थारु लगायत सबैलाई नेतृत्वमा अवसर दिइएको बताए ।

कांग्रेसको दुई साताअघि भएको निर्वाचनमा देउवा दोस्रो कार्यकालका लागि २७३३ मतसहित निर्वाचित भए । निर्वाचनमा ४,७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४,६२३ मतदानमा सहभागी भएका थिए । पराजित डा शेखर कोइरालाले १,८५५ मत पाए ।

प्रतिक्रिया