मंगलबार, वैशाख १६, २०८२

चिसो बढ्ने, सतर्कता अपनाउन मौसमविद्को आग्रह

नेपालखोज २०७८ पुष १० गते १४:०६


काठमाडौं । पछिल्ला दिनमा राजधानी काठमाडौँ उपत्यकासहित देशैभर चिसो बढिरहेको छ । दिउँसोपख मधुरो घाम लागे पनि अधिकतम र न्यूनतम तापक्रममा फेरबदल भइरहेकाले चिसो अझै बढ्नसक्ने विज्ञले औँल्याएका छन् ।

गत एकसातामा न्यूनतम तापक्रम घटे पनि घाम लागेकाले तुलनात्मकरुपमा कम चिसो महशुस हुँदा दुई दिनयता राजधानीसहित देशभर बढी चिसो महशुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाको विवरणमा एकसाताको अवधिमा न्यूनतम दुईदेखि चार डिग्री र अधिकतम तापक्रम १६, १८ तथा २० हाराहारी थियो । आज काठमाडौँको न्यूनतम चार दशमलव चार र अधिकतम १८ डिग्री सेल्सियस रहेको छ ।

अबका दिनमा मौसम फेरबदल भइरहने छ । अझै चिसो बढ्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद् शान्ति कँडेलले बताइन् । ‘अबका दिनमा मौसम फेरबदल भइरहन्छ, हल्का वर्षा र हिमपातको सम्भावना रहन्छ’,उनले भने, ‘अधिकतम तापक्रम एक\दुई डिग्रि सेल्सियस बढे पनि न्यूनतम तापक्रम घट्ने र बदलीसँगै घाम कमजोर हुने हुनाले चिसो क्रमशः बढ्ने देखिन्छ, तापक्रम माइनस पुग्छ\पुग्दैन अहिले भनिहाल्ने अवस्था छैन ।’

अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । तथापी पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविद् कँडेलको भनाइ छ ।

प्रतिक्रिया