‘बजारमा चल्ने हल्लाका पछाडि नपरी पुँजी बजारमा लगानी गरौं’

विराटनगर । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले प्रदेशस्तरीय पूँजी बजार सचेतना कार्यक्रम प्रदेश नम्बर १ को राजधानी विराटनगरमा आयोजना गरेको छ । नेपाल मर्चेन्ट बैंकर्स एशोसिएनशनको सहकार्यमा आयोजित सो कार्यक्रम प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राइको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रदेशका मुख्यमन्त्री राइले पूँजी बजारले छरिएर रहेको पैसालाई समेट्ने र त्यसले व्यवसाय र अर्थतन्त्र विकासमा सहयोग हुने हुँदा पूँजी बजारको विरुद्धमा सरकार नरहेको बताए । ‘नेपालमा अहिलेको पूँजी बजारले विश्वास आर्जन गर्न सकिरहेको छैन । आममानिसमा सचेतना र जागरण ल्याउन यस्तै खालका कार्यक्रम गरी मनोबलको विकास गर्नुपर्छ,’उनले भने ।

त्यसमा प्रदेश सरकारले आवश्यक सहयोग विस्तार गर्ने पनि उनले बताए । प्रदेश सरकार बजारको विकास र विस्तारका लागि सदैव तप्तर रहने उनले प्रतिवद्धता जाहेर गरे । त्यसैगरी, कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक नीरज गिरीले पूँजी बजारको विस्तार वृहतरुपले भइरहेको बताए । बजार विस्तारको तुलनामा धितोपत्र नियमनको आवश्यताअनुसार हुन बाँकी रहेको हुँदा त्यसका लागि बोर्डले पूर्वाधार निर्माण गरिरहेको उनले जानकारी दिए ।

‘सुचिकृत कम्पनीहरुमा ९० प्रतिशत कम्पनी बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु हुँदा राष्ट्र बैंकले ल्याउने नीतिगत प्रभाव पर्दा त्यो लगानीमैत्री नभएको महशुस हुन्छ । बजारमैत्री नीतिगत सहजीकरण गर्न बोर्डले सम्बन्धित सबै निकायहरुमा समन्यव गरिरहेको छ,’ गिरीले भने । बोर्डले प्रदेशस्तरमा पूँजीबजारको विकास र विस्तारका लागि स्थानीय सरकारसँग समन्यव गर्ने र प्रदेशस्तरमै स्टक ब्रोकर कम्पनीहरु ल्याइने जानकारी दिए ।
उनले कृषि क्षेत्रलाई प्राथमिकतामा राखी कमोडिटी मार्केट ल्याउन आवश्यक काम बोर्डले अघि बढाएको पनि जानकारी दिए । साथै, बजारमा चल्ने हल्लाको पछि र नीतिगत प्रभावमा नपरी कम्पनीको आधारभुत स्थितिको मूल्यांकन गरेर पूँजीबजारमा लगानी गरी आफ्नो लगानीको सुनिश्चिता आफैले गर्न उनले सुझाव दिए ।

प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले यहाँ पूँजीबजारको विकास र विस्तारमा सघाउन मन्त्रालय सदैव तयार रहेको बताए । प्रदेश तहमा पनि शेयर बजारको सञ्चालनका लाागि पूर्वाधार, नियामक र अन्य संरचना हुनुपर्नेमा उनको जोड थियो ।
कार्यक्रमका प्रदेश १ का निजी क्षेत्रका छाता संघ संस्थाहरुको समेत उपस्थिति रहेको थियो । जसमध्ये नेपाल चेम्बर अफ कमर्श प्रदेश १ का अध्यक्ष सुरेशमान श्रेष्ठले पूँजी बजारका लागि स्पष्ट नीति नियमन हुनपर्ने बताए ।

उनले मोफसलमा पूँजीबजारको आर्कषण बढिरहेको बताउँदै राजधानी बाहिर पूँजीबजारमा देखिएको समस्या समाधानका लागि सम्बन्धित निकायले तीनै तहको सरकारसँग समन्यव गर्नु पर्ने आवश्यकता औांलाएका थिए । नीतिगत अस्थीरताले लगानीकर्ताको लगानी जोखिममा परेको उनको भनाइ छ ।
नेपाल उद्योग परिसंघ प्रदेश १ का संयोजक भीम घिमिरेले सचेतनाको अभावमा देशका अधिकांश जनताले पूँजी बजारको सदुपयोग गर्न नसकेको बताए । राजधानी बाहिर पूँजी बजारका सम्बन्धमा सरोकारवाला, लगानीकर्ता र सरकारी निकाय समेत निष्कृय रहेको उनको भनाइ छ । ग्रामिण अर्थतन्त्रलाई पूँजीबजारमा जोड्न सके संगठितरुपमा बजारको विकास हुने उनको विस्वास छ ।

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का सल्लाहकार अविनाश बोहराले अहिलेको पूँजीबजार काठमाडौं केन्द्रित भएको भन्दै प्रदेशगत संरचनाअनुसार विकासको लागि पूर्वाधार निर्माणको आवश्यकता औंल्याएका थिए । प्रदेश नम्बर १ मा पूँजीको अभाव नभएको हुँदा यो प्रदेशले पूँजीबजारको विकासमा साथ दिन सक्ने उनको भनाइ छ । कार्यक्रमका मर्चेन्ट बैंकर्स एशोसिएसनको तर्फबाट महासचिव पारसमणी ढकाल र ब्रोकर एशोसिएसनको महासचिव गुणनिधि भुसालले सेयर लगानीकर्ताहरुलाई प्रशिक्षण दिएका थिए ।








प्रतिक्रिया