एमालेसँग गलत उद्देश्यले एकता गरेको होइन

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आठौँ महाधिवेशनमा आफुहरुको आत्मसमिक्षा र आत्माआलोचना गरिने बताएका छन् ।
आइतवार नेकपा(माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टीको आठौँ महाधिवेशनमा पार्टी आजको दिनसम्म विचार, संगठन, संरचना, रणनीति र कार्यनीतिको सम्बन्धमा कहाँ चुक्यो त्यसको समिक्षा हुने बताए ।
उनले माओवादी पार्टी अहिले कमजोर जस्तो देखिनुमा अरुलाई आरोपित नगर्ने भन्दै आफु प्रमुख नेता भएकाले आफैँलाई चिरफार गरेको पनि उल्लेख गरे । अध्यक्ष दाहालले माओवादी केन्द्रको महाधिवेशनमा कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन चाहाने र समाजवादी आन्दोलनलाई अगाडी बढाउन चाहानेहरु सबैलाई उत्प्रेरणा दिने उद्देश्यले प्रस्तुत हुने जानकारी दिए ।
उनले नेकपा एमालेसँग गलत उद्देश्यले एकता नगरेको भन्दै के कारणले पार्टी विभाजन हुन पुग्यो समिक्षा आत्मसमिक्षा गर्न नेकपा(एमाले)का नेता, कार्यकर्ताहरुलाई आग्रह गरे । देशलाई स्थायित्व दिन र समाजवादतिर लैजाने उद्देश्य राखेर एकता गरिएको उनले स्पष्ट पारे ।
पार्टी एकता गरेर गल्ती नगरेको जिकिर गर्दै उनले समिक्षा आवश्यक रहेको बताए । आइतवारदेखि सुरु भएको माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन पाँच दिनसम्म चल्ने भएको छ । सोमवार देखि बन्दशत्र सुरु हुने माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया