सुसंस्कृत र भव्य प्रचण्ड भन्दै गौतमले गरे प्रशंसा

नेपालखोज २०७८ पुष १२ गते १२:१९

काठमाडौं । वामपन्थी नेता वामदेव गौतमले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुसंस्कृत र भव्य भएको बताएका छन् । आज गौतमले सचिवालयमार्फत विज्ञप्ति जारी गर्दै प्रचण्डको प्रशंसा गरेका हुन् ।

माओवादीको आठौं महाधिवेशनको उद्घाटन समारोहमा प्रचण्डले कसैको आलोचना नगरेको भन्दै नेता गौतमले प्रशंसा गरे । उनले प्रचण्डको भाषणमा तर्कयुक्त विचार रहेको बताए । सचिवालयमार्फत गौतमले जारी गरेको वक्तव्यमा लेखिएको छ, ‘उहाँको मन्तव्यमा एउटा पनि दुर्वचन थिएन । कतिपय पार्टीका नेता दुर्वचनबाट आफ्नो मन्तव्य सुरु गर्छन् र दुर्वचनबाटै मन्तव्य अन्त्य गर्छन् । उनको तुलनामा प्रचण्ड एकदमै सुसंस्कृत र भव्य देखिनुभयो । प्रचण्डजीलाई धेरै-धेरै बधाई र धन्यवाद दिन्छु ।’

नेकपा एमालेबाट नेकपा एकीकृत समाजवादी फुटेर गएपछि गौतम कुनै पनि पार्टीमा खुलेका छैनन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गर्ने गौतम नेकपा समाजवादीमा जाने अनुमान गरिएको थियो । तर, उनी कुनै पनि पार्टीमा खुलेका छैनन् ।

प्रतिक्रिया