‘देश प्रचण्डको एजेन्डामा हिँडेको छ, पार्टीमा उनको विकल्प छैन्’

नेपालखोज २०७८ पुष १२ गते १५:४२

काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र) का भातृ संगठनका प्रमुखहरुले पार्टीको राष्ट्रिय सम्मेलनमार्फत लिइने नीति र विचारले नै देशलाई डोर्याउने बताएका छन् । उनीहरुले अहिले पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कुनै विकल्प नरहेको पनि स्पष्ट पारेका छन् ।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा अनेरास्ववियू (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह, वाईसिएलका अध्यक्ष सुमन देवकोटा र मजदुर संगठनका प्रमुख जगत सिम्खडाले यस्तो बताएका हुन् ।

उपत्यकाविशेष प्रदेश अध्यक्ष जगत सिम्खडाले राष्ट्रिय सम्मेलनपछि आफ्नो पार्टी नेपालकै पहिलो समाजवादी पार्टी बन्ने बताए । ११ गतेबाट सुरु हुने प्रथम सम्मेलनमा अध्यक्ष प्रचण्डले पेश गर्ने दस्तावेजमा बहस तथा छलफल हुने पनि जानकारी दिए ।
प्रचण्डले बनाएको कार्यदिशानुसार आज देश अघि बढिरहेको उल्लेख गर्दै सिम्खडाले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र पनि प्रचण्डकै एजेण्डा भएको दाबी गरे ।

त्यस्तै,अनेरास्ववियू (क्रान्तिकारी) की अध्यक्ष सिंहले आगामी पुस ११ देखि १३ गतेसम्म हुने हुने पार्टीको प्रथम राष्ट्रिय सम्मेलन विचारको सम्मेलन हुने बताईन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले पार्टीको दस्तावेज लेखन र यसलाई अन्तिम रुप दिन व्यस्त रहेको समेत सिंहले जानकारी दिईन् ।

उनले ०५२ सालमा अध्यक्ष प्रचण्डले सुरुवात गरेको विद्रोह आज सफल भएको पनि दाबी गरिन् । अध्यक्ष प्रचण्डले राज्यले एउटै धर्म बोकेर हिँड्न हुँदैन भनेर आवाज उठाएकै कारण आज मुलुकमा धर्मनिरपेक्षता आएको पनि बताइन् । मुलुकमा भएका सबैखाले परिवर्तन र अग्रगमनकारी एजेण्डा माओवादीकै कारण हाँसिल भएको भन्दै यसमा माओवादी नै हकदार भएको पनि अध्यक्ष सिंहले स्पष्ट पारिन् ।

वाइसीएलका अध्यक्ष सुमन देवकोटाले माओवादी युवाहरुको र देशकै भविष्य बोेकको पार्टी भएको स्पष्ट पारेका छन् । उनले अहिले देशमा विद्यमान राजनीतिक दलहरुमध्ये माओवादीले नै युवाहरुलाई सबैभन्दा बढि स्थान दिएको सुनाए । अन्य पार्टीले युवाहरुलाई झण्डा बोक्न र सडकमा उतार्नमात्र प्रयोग गरेको आरोप लगाउँदै उनले माओवादीले मात्रै युवाहरुलाई नीति निर्माणको कार्यमा उचित भूमिका दिएर अघि बढाएको दाबी गरे ।

प्रतिक्रिया