सिरहा प्रहरी प्रमुख पाण्डेलाई जनकारबाही गर्ने सीके राउतको धम्की

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले सिरहा प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेलाई जनकारबाही गर्ने धम्की दिएका छन् । आज राउतको सचिवालयले सामाजिक सन्जालमार्फत आफ्ना कार्यकर्तालाई प्रहरीले दुव्र्यवहार गरेको जनाएको छ ।
राउतको सचिवालयले व्यवहार सुधार्न चेतावनी दिएको हो । यदि प्रहरीले व्यवहार सुधार नगरे एसपी पाण्डेलाई सिरहा बजारबीच चोकमा जनकारबाही गर्ने धम्की दिएको छ । सामाजिक सन्जाल फेसबुकमा लेखिएको छ,–‘गिरफ्तार गरिएका आन्दोलनकारीसँग दुव्र्यवहार भइराखेको, जाडोमा कपडासमेत उपलब्ध नगराएको, लगाएको ज्याकेट पनि खोल्न लगाएको, परिवार र वकीलसँग सम्पर्क गर्न नदिएको र प्राथमिक उपचार समेत गर्न नदिएको समाचार आएको छ । यदि २४ घण्टाभित्र हिरासतमा रहेका आन्दोलनकारीसँग व्यवहार र सुविधामा सुधार भएन भने कारबाही गर्न जनतालाई पनि आउँछ । सिरहा बजारको बीच चोकमा जनकारबाही हुन्छ ।’
जनमत पार्टीले आम हड्ताल घोषणा गरेपछि स्थानीय प्रशासनले आज र भोलि २ दिनका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । विश्व परिघटनाबारे चर्चा गरेर प्रहरीलाई सचिवालयले डर देखाएको छ । लेखिएको छ,–‘२०७३ सालमा स्वराजीको डरले गहुँ खेतमा सुसु गर्नु परेको सम्झना होला नै । फ्रान्सेली क्रान्तिमा जनताले शासकलाई कसरी चौबाटोमा सजाय दिएका थिए, थाहा नै होला ।’

प्रतिक्रिया