मंगलबार, वैशाख १६, २०८२

घटेनन् कुष्ठरोगी, सरकारको परिकल्पनामा चुनौती

नेपालखोज २०७८ पुष १३ गते १४:२३

डोटी । डोटीमा कुष्ठरोगीको संख्या वर्षैपिच्छे बढ्दै गएको छ । बर्सेनि कुष्ठरोगी थपिँदै जान थालेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । गत वर्ष सात कुष्ठरोगी फेला परेका थिए भने यो वर्ष थप पाँचमा कुष्ठरोग देखिएको हो । आर्थिक वर्ष २०७७÷७८ को सुरुमै जिल्लामा पाँच नयाँ कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक अधिकृत महेश बोहराले बताए । उनले भने, ‘जिल्लामा बर्सेनि कुष्ठरोगीको संख्या थपिँदै गएको छ, कुष्ठ रोग अन्त्य गर्न समस्यासहित चुनौती थपिएको छ ।’

कुष्ठरोगसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम गरिँदै आए पनि यहाँका गाउँघरमा कुष्ठरोगी अझै लुकीछिपी बस्ने गरेका कारण कुष्ठरोग निवारण हुन नसकेको चिकित्सक बताउँछन् । स्वास्थ्यकर्मीका अनुसार दुई वर्ष यतादेखि कुष्ठरोगीको संख्या थपिँदै गएकोे छ ।

डोटीमा विभिन्न स्थानमा चर्मरोगसम्बन्धी विभिन्न शिविर सञ्चालन गरेका कारण अहिले कुष्ठरोगी फेला पर्न थालेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख उद्धवसिंह ठगुन्नाले जानकारी दिएका छन् । कुष्ठरोगीको संख्या थपिँदै जान थालेपछि स्वास्थ्य कार्यालयले चालु आर्थिक वर्षमा जिल्लाका नौवटै स्थानीय तहमा बिरामी पहिचानका लागि ‘स्क्रिनिङ क्याम्प’ गर्ने योजना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

नेपाल सरकारले कुष्ठरोगमुक्त नेपालको परिकल्पना गर्दै सन् २०२० मा कुष्ठरोग प्रकोप दर प्रति १० हजारमा एकभन्दा कम गर्ने लक्ष्य राखे पनि डोटीमा संख्या थपिँदै जान थालेपछि उक्त लक्ष्य चुनौतीका रुपमा लिइन थालिएको छ ।

प्रतिक्रिया