भैरहवा विमानस्थलको टर्मिनल चित्त बुझ्दो भएन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य माधवकुमार नेपालले भैरहवा विमानस्थलको टर्मिनल चित्त बुझ्दो नरहेको बताएका छन ।
मंगलवार सिंहदरवारमा भएको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै नेपालले भैरहवा विमानस्थलको टर्मिनल चित्त बुझ्दो नरहेको बताएका हुन् । उनले विमानस्थल डिजाइनर, कम्पनी, इन्जिनियर र डिजाइन स्वीकार गर्ने पदाधिकारीको नाम समेत उपलब्ध गराउन आग्रह गरे ।
सदस्य नेपालले अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा विभिन्न त्रुटीहरु भएको भन्दै सुधार्न प्रयास गर्नुपर्ने बताए । उनले निजगढ विमानस्थलको कुरा उठाएको र अघि बढाउनु पर्छ भनेको धेरै वर्ष भइसकेकोले अहिलेसम्म कसले बनाउन रोक्यो भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने बताए
बैठकमा समितिकी सदस्य पुष्पा भुसालले साधारण जनताहरुले पनि प्लेनमा चढ्न पाउनुपर्ने अवसरको महशुस भएकोले चाँडै काम भइरहेको विमानस्थलहरुको काम सकेर सञ्चालनमा ल्याइनु पर्ने बताए । उनले लुम्बिनी विमानस्थलमा सञ्चालनको काम पर्यटनमन्त्रालयबाट नै केही कारण रोकिएको सूचना पाएकोले आफ्नो सरकार रहँदै सञ्चालन गर्नुपर्ने बताए।
त्यस्तै समितिका सदस्य मोहन बानियाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पुनः सर्वे डिजाइन र डिपिआर गर्ने भन्ने आएकोमा खेद प्रकट गरे । उनले करिव ९५ प्रतिशत काम भइसकेको अवस्थामा यस्तो कुरा गर्नु लापरबाही भएको बताए ।
बैठकमा समितिका सदस्यहरुले विमानस्थलको काममा ढिलाई भइरहेको भन्दै यथाशीघ्र काम सम्पन्न गरी सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया