पूर्व र वर्तमान न्यायाधीशहरुको सम्पत्ति छानबिनको मागसहित उजुरी !

काठमाडौं । स्वतन्त्र राष्ट्रिय अभियान नेपालले सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश र वर्तमान न्यायाधीशहरुको सम्पत्ति छानविन गर्न माग गर्दै उजुरी दिने भएको छ । अभियानका संयोजक स्वागत नेपालले अहिले उजुरीको मस्यौदा तयार पारिएको बताए ।
अधिवक्तासमेत रहेका नेपालले सकेसम्म आजै प्रस्ताव दर्ता गरिने पनि बताएका छन् । दर्ता हुने उजुरीमा भने २०६३ सालपछिका सर्वोच्च अदालतका प्रधानन्यायाधीश र वर्तमान न्यायाधीशको सम्पत्ति छानविन गर्न माग गरिने छ । अहिले सर्वोच्चका बहालवाला न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद प्याकुरेल, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, टंकबाहदुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाल फुयाँल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी छन् ।
त्यस्तै, पूर्व प्रधानन्यायाधीशहरुमा दिलिपकुमार पौडेल, केदारप्रसाद गिरी, मीनबहादुर रायमाझी, अनुपराज शर्मा, रामप्रसाद श्रेष्ठ, खिलराज रेग्मी, दामोदरप्रसाद शर्मा, रामकुमार प्रसाद शाह, कल्याण श्रेष्ठ, सुशीला कार्की, गोपाल पराजुली, ओमप्रकाश मिश्रको सम्पत्ति छानबिन गर्न माग गरिने जनाइएको छ । स्वतन्त्र कानुन व्यवसायीहरुले हाल्ने उजुरीमा नेपाल बारका पदाधिकारी र बारका पूर्वअध्यक्षहरुको पनि सम्पत्ति छानविनको माग गर्ने बताएका छन् ।

प्रतिक्रिया