‘भूकम्प प्रतिरोधी मापदण्डअनुरुप भवन बनाऔं’

नेपालखोज २०७८ पुष १४ गते १४:११

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले ग्रामीण भेकमा तीव्र रुपमा भइरहेको भवन निर्माण मापदण्डअनुसार हुनुपर्ने बताएका छन् । उनले भवन निर्माण गर्दा भूकम्प प्रतिरोधी मापदण्डअनुरुप बनाउन सबैमा आग्रहसमेत गरे ।

२४औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकमा गृहमन्त्री खाँणले ग्रामीण भेकमा पनि भूकम्प प्रतिरोधी भवन निर्माण गर्न आवश्यक रहेको बताए । सहरी क्षेत्रमा ठूला भवनहरु र विद्यालयका भवनहरु बनाउँदा सरकारले तोकेको मापदण्ड पालना भइरहेको पनि उनले बताए । उनले ग्रामीण भेकमा पनि सरकारले तोकेको मापदण्ड पालना गरेर भवन निर्माण गर्न सम्बन्धित निकायलाई सचेत गराए ।

ग्रामीण भेकमा जनसंख्या वृद्धिसँगै तीव्र गतिमा भवन निर्माण हुन थालेको र यसले गर्दा भूकम्पबाट बच्ने सुरक्षा चुनौती पनि थपिएको उनको भनाइ छ । उनले भने, ‘ठूला भवनहरु र विद्यालयको भवन निर्माण गर्ने क्रममा त सरकारको मापदण्डअनुसार अवलम्बन गरेको देखिन्छ । त्यसकारणले गाउँपालिकालाई पनि नगरपालिकाले अवलम्बन गर्ने मापदण्ड अवलम्बन गरिरहनु भएको भए त्यो गाउँपालिकालाई धन्यवाद । गरिरहनुभएको छैन भने त्यो गाउँपालिकाहरुलाई पनि भवन निर्माणको मापदण्ड अवलम्बन गर्नु उचित हुन्छ जस्तो लाग्छ । त्यसका लागि सम्बन्धित निकायहरुले नेतृत्व गर्नुपर्ने र पहल गर्नुपर्ने देखिन्छ ।’

गृहमन्त्री खाँणले यस वर्षको २४औँ भूकम्प सुरक्षा दिवसलाई औपचारिक कार्यक्रमभन्दा पनि सन्देशमूलक कार्यक्रमका रुपमा मनाउन निर्देशन दिए । भूकम्पसम्बन्धी सचेतना कार्यक्रम र प्रचार सबै नागरिकसम्म पुर्‍याउनुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया