सोमबार, असार ९, २०८२

सप्तकोसी डेभलपमेन्ट बैंकमा १६ करोड हिनामिना

नेपालखोज २०७८ पुष १४ गते १५:१२

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकमा १६ करोड रुपैयाँ रकम हिनामिना भएको छ । मंसिरको पहिलो साता घटना सार्वजनिक भएपछि बैंकले रेमिटेन्सतर्फ करिव १६ करोड रकम अपचलन भएको भन्दै अनुसन्धान कारवाहीको लागि मोरङ प्रहरीमा उजुरी दिएको छ ।

प्रहरीले बैंकका कर्मचारी हिमाल भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरि रहेको छ । प्रमुुख कार्यकारी अधिकृत नविन सुवेदी र बैंकका पूर्व अध्यक्ष तारा निरौलालाई प्रहरीले अहिलेसम्म प्रकरणका बिषयमा सोधपुछ गरेको छैन् । पक्राउ परेका भट्टराई ६ वर्षदेखि रेमिटेन्सतर्फ जिएसडी प्रमुखको जिम्मेवारीमा काम गर्दै आएका छन् । बैंकभित्र ठूलो रकम हिनामिना भएकाले भट्टराईको मात्र संलग्नता नभए व्यवस्थापन प्रमुख कार्यकारी अधिकृत सुवेदीलाई शंकाको घेरामा राखिएको छ । बैंंकमा भएको रकम घोटालाको बिषयमा नेपाल राष्ट्र बैंकमा परेको उजुरीमा रेमिट शाखाबाट भएको अपचलनमा बबिता सुवेदीको नाममा १४ करोडभन्दा बढी रकम ट्रान्सफर भएको उल्लेख छ ।

सन् २०१६ देखि २०२१ अगष्ट २ तारिखसम्म बबिताको नाममा रहेको प्राइम बैकको खाता नं. ९९९००००१५००१५ बाट १४ करोड गैरकानूनी ढङ्गबाट निकालिएको उजुरीमा उल्लेख छ । बबिताको नाममा नक्कली खाता प्रमुख कार्यकारी सुवेदी र भट्टराईले मिलेर खोलेको हुन सक्ने बताइएको छ । हिमाल भट्टराईको नाममा रहेको बिभिन्न बैंकमा रहेको पाँच वटा खातामा पनि १ करोड भन्दा बढी रकम जम्मा भएको पाइएको छ । अतिरिक्त घोटाला भएकोे रकम भगवती सुवेदी, साजन पोखरेल र बानी पोखरेल लगायतका खातामा रकम पठाएको श्रोतले जानकारी दिएको छ ।

बैंकमा भएको उक्त रकम घोटालामा प्रमुख कार्यकारी सुवेदी, लेखा प्रमुख देवीप्रसाद भण्डारी, कर्जा प्रमुख विदुर पोखरेल, आईटी प्रमुख सशांक पोखरेल र अपरेसन प्रमुख अमित थापा मगर अनुसन्धानको घेरामा रहेका छन् ।

प्रतिक्रिया