नारायणगढ-बुटवल सडक निर्माणको म्याद थप गर्ने तयारी

सडक विस्तार सुरु भएपछि खास गरी कोरोनाका कारण निषेधाज्ञा जारी गरिँदा सडक विस्तारको काम प्रभावित भएको भन्दै निर्माण पक्ष चाइना स्टेट इन्जिनियरिङले म्याद थपको माग गरेको हो । नारायणगढ–बुटवल सडक योजना (पूर्वी खण्ड)ले म्याद थपको माग भएको जानकारी दिएको छ । योजना प्रमुख रमेशकुमार दिष्टीले निर्माण पक्षले सडक विस्तारको म्याद थप गर्न माग गर्दै कन्सल्टेन्सलाई कागजपत्र बुझाएको बताए।
निर्माण पक्षले म्याद थप गर्न माग गरेका कारण चित्त बुझ्दो भएको अवस्थामा कन्सल्टेन्टले नारायणगढ–बुटवल सडक योजनालाई सिफारिस गर्ने दिष्टीले बताए । ‘म्याद थपका लागि सम्झौतामा भएको प्रावधानअनुसार निर्माण व्यवसायीले कन्सल्टेन्टमा कागजपत्र पेस गरेको छ’, उनले भने, ‘सडकको कामको मूल्याङ्कन भइरहेको छ, म्याद थप कति समयका लागि उचित लाग्छ सोहीअनुसार प्रक्रिया अगाडि बढ्छ ।’ कन्सल्टेन्टले म्याद थपको सबै फाइल तयार पारेर योजनालाई पठाउने दिष्टीले बताए ।
पछिल्लो समय सडक विस्तारको कामले गति लिएको भन्दै दिष्टीले म्याद थप गरेर भए पनि समयमा नै निर्माणको काम सक्नुपर्ने बताए । निर्माण पक्षले दुई वर्ष म्याद थप गर्न माग गरेको भए पनि उनीहरुले मागेकै भरमा म्याद थप नहुने उनको भनाइ छ ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले पछिल्लो तीन महिनामा सडक विस्तारले गति लिएको बताए। एक वर्षजति म्याद थप गरेर त्यो मितिभित्र सडक निर्माणको काम सकाउनुपर्ने उनको भनाइ छ ।
नेपाल सरकारले विसं २०७५ माघ २४ मा सडक विस्तारका लागि चिनियाँ कम्पनीसँग सम्झौता गरेको थियो । सम्झौता मितिबाट ४२ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने गरी सडक विस्तारको काम सुरु भएको थियो । सडक विस्तारको काम २०७९ साउन २२ मा सक्नुपर्ने गरी सम्झौता भएको थियो भने विसं २०७५ पुस ८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलमा सडक विस्तारको शिलान्यास गरेका थिए।
विसं २०१८ सालमा राजा महेन्द्रले गैँडाकोटबाट शिलान्यास गरेको सडक ५८ वर्षपछि विस्तार गर्न लागिएको हो । दुई लेनमा रहेको यो सडक विस्तारपछि चार लेनको हुनेछ भने सहरी क्षेत्रमा अतिरिक्ति दुई लेन (सर्भिस लेन) थप हुनेछ । दाउन्नेको उकालोमा करिब चार किलोमिटर सडक भने तीन लेनमा मात्रै विस्तार हुने सडक योजनाले जनाएको छ । भौगोलिक कठिनाइका कारण दाउन्नेमा उकालो चढ्नका लागि दुई लेन तथा ओरालो झर्नका लागि एक लेन हुनेछ ।

प्रतिक्रिया