शुक्रबार, वैशाख २१, २०८१

‘डेल्टाभन्दा ओमिक्रोन मध्यम तर निकै संक्रामक’

नेपालखोज २०७८ पुष १५ गते १०:३३

काठमाडौं । डेल्टा र ओमिक्रोन भेरियन्टको मिश्रणले मानव शरीरमा डबल आक्रमण हुनसक्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ । डेल्टा र ओमिक्रोन भेरियन्टको मिश्रणले संक्रमणमा सुनामी ल्याउन सक्ने डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले चेतावनी दिएका हुन् । युरोप र अमेरिकामा ठूलो संख्यामा कोभिडका नयाँ संक्रमितहरू देखा परिरहँदा डब्ल्यूएचओका प्रमुख डा. गेहब्रेयससले चिन्ता व्यक्त गरेका छन् ।

अध्ययनहरूले कैयौँ देशमा निकै छिटो फैलिएको भेरियन्ट ओमिक्रोन डेल्टाभन्दा मध्यम रहेको तर निकै धेरै संक्रामक रहेको गेहब्रेयसस सुझाएका छन्। फ्रान्सका स्वास्थ्यमन्त्रीले ओमिक्रोनलाई अब लहर मात्र भनेर नपुग्ने बरु आँधीजस्तो लहर भन्नुपर्ने बताएका छन्।

डब्ल्यूएचओका प्रमुखले दुईवटा भेरियन्टको चुनौतीले समग्र घटनाको चाप बढाएको भन्दै चेतावनी दिएका छन्। डा. टेड्रोस एड्हानोम गेहब्रेयससले भने, ‘थकित स्वास्थ्यकर्मीमा यसले निकै उच्च चाप थप्नेछ र थपिसकेको पनि छ । स्वास्थ्य प्रणालीहरू काम गर्न नसक्ने अवस्था नजिक पुगेका छन् । ’

रोयटर्स समाचार संस्थाका अनुसार विश्वभरि यतिखेर दैनिक झन्डै नौ लाख संक्रमित थप भइरहेका छन्। अमेरिकाका शीर्ष संक्रामक रोग विज्ञ डा. एन्थोनी फाउचीले संक्रमणले जनवरीको अन्त्यसम्ममा अमेरिकामा उच्च बिन्दु लिने सम्भावना रहेको बताएका छन्।

कैयौँ देशले कोभिडको तेस्रो मात्रा खोप दिनेगरी बूस्टर अभियान सुरु गरेका छन्। अमेरिकामा १२ वर्ष माथिका ५७ प्रतिशत मानिसले तेस्रो मात्रा खोप लिइसकेका छन्। तर डब्ल्यूएचओ प्रमुखले ठूलो स्तरका बूस्टर अभियानले गरिब देशमा हुनुपर्ने आपूर्ति मोडिरहेको र त्यसले महामारी लम्ब्याउने देखिएको बताएका छन्।

गरिब देशहरू खोपबाट पर रहँदा त्यहाँ संक्रमण फैलने र भाइरस उत्परिवर्तन हुने थप अवसरहरू सिर्जना हुने डब्ल्यूएचओ प्रमुखको भनाइ छ ।फ्रान्समा पछिल्लो चौबीस घण्टामा दुई लाख आठ हजार संक्रमित पुष्टि भएका छन् । आफ्ना यसअघिका दैनिक संक्रमणका कीर्तिमान तोड्ने देशहरूमा यूके, इटली र स्पेन समेत छन्।

अमेरिकामा महामारी सुरु भएयताकै उच्च दैनिक संक्रमण देखापरेको छ, जहाँ गत साता औसत दैनिक दुई लाख ६५ हजार सङ्क्रमित पुष्टि भएका थिए । तर सेन्टर्स फर डिजिज कन्ट्रोल सीडीसीले अस्पताल भर्ना हुने र मृत्यु हुनेहरू तुलनात्मक रूपमा न्यून रहेको जनाएको छ । -बीबीसी

प्रतिक्रिया