सिभिल सहकारी ठगी प्रकरण : तामाङ र श्रेष्ठ पुर्पक्षका लागि जेल चलान, ९ जनालाई धरौटी तोकियो

काठमाडौं । सिभिल सेमिङ एन्ड क्रेडिट को अपरेटिभ लिमिटेड घोटाला प्रकरणमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहितका १२ जना व्यक्तिहरु पक्राउ परेकोमा काठमाडौं जिल्ला अदालतले पक्राउ परेकाहरु विरुद्ध प्रारम्भिक थुनछेक आदेश जारी गरेको छ ।
आदेश अनुसार इच्छाराज तामाङ र केशवलाल श्रेष्ठ पुर्पक्षको लागि थुनामा गएका छन् । बाँकी रहेकाको हकमा भने नौ जनालाई धरौटी तोकिएको छ भने एक जनालाई साधारण तारेखमा छाडिएको छ ।
आदेश अनुसार हरिप्रशाद लामिछानेलाई ५० लाख, बिजय बिक्रम शाहलाई १५ लाख, भगवान बहादुर सिंह डंगोललाई १० लाख, एलिना तुलाधरलाई पाँच लाख, मायोनानी महर्जनलाई पाँच लाख, बुद्धराज तामाङलाई पाँच लाख, कौस्तुभ केतन ढुंगानालाई पाँच लाख, शंकर प्रसाद पाठकलाई दुई लाख ५० हजार र राकेश मर्हजनलाई ५० हजार रुपैयाँ धरौटी तोकिएको छ । आदेश अनुसार संगीत श्रेष्ठ भने साधारण तारेखमा छुटेका छन् ।
वादी नेपाल सरकार प्रतिवादी सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड सोल्टीमोड, काठमाडाैंका संचालक समितिको अध्यक्ष केशव लाल श्रेष्ठसमेत भएको ठगी तथा संगठित अपराध मुद्दा केन्द्रिय अनुसन्धान व्युरोमा असोज १७ गते दर्ता भई अनुसन्धानको क्रममा १२ जना प्रतिवादीहरु पक्राउ गरिएकोमा काठमाडाैं जिल्ला अदालतको यही पुस १४ गतेको प्रारम्भिक थुनछेक आदेश अनुसार उक्त सजाँय तोकिएको केन्द्रिंय अनुसन्धान व्युरोले जानकारी दिएको छ ।


प्रतिक्रिया