शुक्रबार, चैत १६, २०८०

खराब पोषणको सिकार बन्यो संसार

नेपालखोज २०७८ पुष १६ गते १६:५१

काठमाडौं । २०२१ को एक रिपोर्टले के दाबी गरेको छ भने संसारको लगभग आधा जनसंख्या खराब पोषणको सिकार छ । खराब पोषणकै कारण मानिसको स्वास्थ्य खराब त भइरहेकै छ, पृथ्वीमा पनि यसको नकारात्मक असर परिरहेको छ । यो ग्लोबल न्युट्रिसन रिपोर्ट (जीएनआर) को निष्कर्ष पनि हो । यो रिपोर्टअनुसार संसारको लगभग आधा जनसंख्याले ठीक ढंगको पोषण पाइरहेको छैन । परिणामस्वरूप मानिसहरुले या त कम या ज्यादा मात्रामा खाना पाइरहेका छन् ।

यो जीएनआरको वार्षिक सर्वेक्षण हो जसमा पोषण र पोषणसँग सम्बन्धित विषयमा ताजा तथ्यांकहरुको विश्लेषण गरिन्छ । वर्ष २०२१ को यो रिपोर्टमा भनिएको छ- संसारका ४८ प्रतिशत मानिसहरु या त धेरै बढी खाना खाइरहेका छन वा धेरै कम । यो गलत पोषणका कारण मानिसहरुको वजन निकै बढिरहेको छ वा निकै कम भइरहेको छ ।

लक्ष्य हासिल गर्न मुस्किल
यदि स्थिति यस्तै रहने हो भने विश्व स्वास्थ्य संगठनले २०२५ सम्मका लागि निर्धारण गरेको नौ लक्ष्यमध्ये आठवटा लक्ष्य हासिल हुनसक्ने छैनन् । यी लक्ष्यमा लम्बाइको हिसाबले पातला (दुब्ला) बालबालिका, उमेरका हिसाबले धेरै साना बालबालिका तथा मोटोपनको सिकार वयस्कहरुको संख्यामा कमी ल्याउनु आदि छन् ।

रिपोर्टमा गरिएको अनुमानअनुसार पाँच वर्षभन्दा कम उमेरका लगभग १५ करोड शिशु उनीहरुको उमेरका हिसाबले धेरै साना छन् भने ४.५ करोड शिशु उनीहरुको लम्बाइका हिसाबले निकै दुब्ला छन् अनि लगभग चार करोड बालबालिकाको वजन चाहिनेभन्दा धेरै बढी छ । यो रिपोर्टअनुसार वयस्कहरुमध्ये ४० प्रतिशतभन्दा बढी (२.२ अर्ब) मानिसको वजन चाहिनेभन्दा बढी छ अर्थात् उनीहरु मोट‍ोपनको सिकार छन् ।

जीएनआरको स्वतन्त्र विशेषज्ञ समूहका अध्यक्ष रेनाटा मिचा भन्छन्, ‘खराब डाइटका कारण भएका मृत्यु जसलाई रोक्न सकिन्थ्यो त्यसमा २०१० यता १५ प्रतिशतले वृद्धि देखिएको छ । वयस्क मृत्युमध्ये करिब एकचौथाइ मृत्युका लागि खराब पोषण जिम्मेवार छ ।’

सबैतिर खराब भोजन
अध्यक्ष रेनाटाले भनेका छन्, ‘हाम्रो अनुसन्धान नतिजाअनुसार बितेको एक दशकमा हाम्रो डाइटमा कुनै सुधार नआएको देखिन्छ र यो मानव स्वास्थ्य तथा पृथ्वी दुवैका लागि एउटा ठूलो खतरा हो ।’ यस वर्षको सर्वेक्षणमा देखिएको महत्त्वपूर्ण कुरा के हो भने यो संसारमा मानिसहरुले आवश्यक मात्रामा फल तथा सागसब्जीजस्ता स्वास्थ्यप्रद खाना खान पाइरहेका छैनन् । यस्तो खासगरी कम आय भएका देशहरुमा भइरहेको छ भने बढी आय भएका देशहरुमा रातो मासु, दुग्ध उत्पादन तथा चिनीमिश्रित पेय पदार्थजस्ता हानिकारक वस्तुको सेवन बढी भइरहेको छ ।

रिपोर्टमा भनिएको छ- दुर्भाग्य त के छ भने हालको हाम्रो पोषण लक्ष्यमा सोडियम कम गर्ने कुराका अतिरिक्त डाइटको अरु कुनै कुरा उल्लेख छैन ।

यो रिपोर्टअनुसार संसारको पोषणको स्थितिमा सुधार ल्याउन रकमको आवश्यकता प्रमुख छ । यसको आवश्यकता किन पनि बढी छ भने कोभिड-१९ ले संसारका करिब १५.५ करोड मानिसलाई चरम गरिबीमा धकेलेको छ । जीएनआरको अनुमानअनुसार २०३० सम्म लक्ष्य हासिल गर्न हरेक वर्षको पोषण खर्च लगभग चार अर्ब डलरका दरले बढाउनुपर्ने आवश्यकता छ ।
-एएफपी

प्रतिक्रिया