शुक्रबार, वैशाख १४, २०८१

मनोरोगीलाई कस्तो व्यवहार गर्ने ?

मीना साउँद २०७८ साउन १० गते १५:१३

‘नजिकका आफन्त साथीभाइहरूले पनि यस्तो अवस्थामा बिरामीको मनको कुरा सबैभन्दा धेरै सुनिदिनुपर्छ ।’

काठमाडौं । मनोरोग भन्नेबित्तिकै हामी सामान्य बोलीचालीको भाषामा मनको रोग भनेर बुझ्छौं । मनोरोग उमेर वा त्यो उमेर, यो राष्ट्रका वा त्यो राष्ट्रका भन्ने केही पनि हुँदैन यो जुनसुकै उमेर समूहका र जुनसुकै मुलुकका मानिसलाई पनि हुन सक्छ ।

बढ्दो सहरीकरण, उच्च प्रविधिको प्रयोग, अति व्यस्त जीवनशैली आदि-इत्यादिका कारण पछिल्लो समय मनोरोगीहरू अत्यधिक बढिरहेका छन् । मनोरोग लागेपछि व्यक्तिको व्यवहारमा परिवर्तन आउन थाल्छ । मानसिक रोग लागेपछि व्यक्तिको बोलीवचन, आभाष, स्मरण, चेतना व्यवहार आदि सबैमा परिवर्तन आउन थाल्छ ।
हो, यही गडबड भएको ज्ञान मान्छेमा हुँदैन र यो रोगलाई उनीहरूले धेरै रहस्यमय रुपमा लिइरहेका हुन्छन् । सधैं चिन्ताग्रस्त हुनु, ध्यान एकाग्र गर्न नसक्नु, मन बेखुस हुनु, नियन्त्रण गर्न नसक्नु, निद्रामा गडबडी हुनु, मन कहिले उदास त कहिले उन्मादिलो हुनु, दैनिकी बिथोलिएर अप्ठ्यारो अवस्था आउनु, लामो समयदेखि दिक्दारी महसुस हुनु, बिनाकारण डर लाग्नु, आफू मात्र ठीक अरू सबै बेठीक भन्ने लाग्नु आदि-इत्यादि भएमा मानसिक समस्याका लक्षण हुन सक्छन् ।

मनोविद् डा. करुणा कुँवरका अनुसार मनोरोग दुई किसिमका हुन्छन्, सामान्य र कडा । दैनिक जीवनमा तपाईं-हामीमा भइरहने उतारचढाव पनि नरम खालको मानसिक समस्या हुन सक्छ । जस्तो, कुनै समस्याका कारण निद्रा नलाग्ने, खाना खान मन नलाग्ने आदि कुराहरू हुन सक्छन् । यस्तै मनको रोग भन्नाले मनमा आइरहने चिन्ता, तनाव, डर, त्रास अथवा यससँग सम्बन्धित अन्य विभिन्न कुरा पनि हुन सक्छन् । कडाखालको मनोरोगमा पागलपन आदि-इत्यादि देखिन्छ । कडा खालको मनोरोगी छ भने उसले सामान्य मानिसले झैं सोच्न सक्दैन, हामीले बोलेको अथवा सुनेको कुराहरू उसले सुन्दैन र बुझ्दैन भने उसले बोलेको अथवा सुनेको कुरा हामीले नसुन्ने हुन सक्छ । उसको आफ्नै संसार हुन्छ । सामान्य रुपमा मनसँग सम्बन्धित अथवा हामीले सोच्न सक्ने तरिकासँग सम्बन्धित कुराहरूलाई नै मनको रोग भनेर बुझ्नुपर्छ ।

मनोरोग कस्ता व्यक्तिलाई बढी लाग्न सक्छ ?
मनोविद् डा. कुँवरका अनुसार मनोरोग विभिन्न किसिमले लाग्ने गर्छ । मनोरोग वंशाणुगत पनि हुन सक्छ । अर्को वातावरणबाट पनि आउन सक्छ । जस्तो- गरिबी, कुनै ठूलोखालको क्षति, आघातलगायत विभिन्न कुराले मनको रोग अथवा मनोरोग हुने गर्छ । यो समस्या यो वा त्यो केही नभई जुनसकै मानिसमा पनि हुन सक्छ । यो बालबालिका, वृद्धवृद्धा, युवायुवती सबै किसिमका मानिसमा हुन सक्ने मनोविद् डा. कुँवर बताउँछन् । उनी भन्छिन्, ‘मनको रोग भनेको मान्छे भएर जन्मिसकेपछि कुनै एउटा रोग एउटा मान्छेलाई लाग्छ भने अर्को मान्छेलाई पनि लाग्छ भन्ने कुरा बुझ्न जरुरी छ । यो रोग कुनै पनि वर्ग कुनै पनि जात, जुनसुकै ठाउँको मान्छे जसलाई पनि हुन सक्छ ।’

मनोरोगीलाई गर्ने व्यवहार कस्तो हुनुपर्छ ?
कुनै पनि मानिस समस्यामा पर्दा सकारात्मक रूपले हेरिदिए मात्र पनि धेरै हौसला बढ्छ । समस्यामा परेको मानिसलाई तिमी आँट गर, म तिम्रो साथमा छु, तिमीले गर्न सक्छौं वा जित्न सक्छौं मात्र भनिदिने हो भने त्यसले पनि ठूलो प्रभाव पर्छ । तर, समस्यामा परेको मानिसलाई आफन्त, साथीभाइ अथवा परिवारभित्रैबाट यसले यो गर्न सक्दैन्, यो यस्तो उस्तो भनेर कमी-कमजोरीहरू निकाल्न थाल्यो भने उसको हौसला झन् घटेर जान्छ र ऊ निराश हुन्छ । तर, उनीहरूलाई हौसला दिने, उनीहरूलाई घरभित्रको काममा मात्र होइन, समाजमा हुने गरेका विभिन्न क्रियाकलापमा पनि सहभागी गराउने, उनीहरूसँग कुराकानी गरिरहने गर्‍यो भने आत्मबल बढ्दै जान्छ । म पनि गर्न सक्छु, मेरो जुन अवस्था छ, त्यसको क्रमिक सुधार हुँदै छ/हुन्छ भन्ने विश्वास बढ्दै जान्छ र यो समस्याबाट चाँडै छुट्करा मिल्छ । तर, कसैलाई कडा खालको मनोरोग भए उसलाई विभिन्न मनोपरामर्श तथा उपचार नै गर्नुपर्ने बताउँछिन् मनोविद् डा. करुणा कुँवर । ‘मनोरोगीलाई परिवार, आफन्त, छरछिमेकीको सहयोग त आवश्यकता पर्छ नै तर, कडा खालकै समस्या छ भने उपचार पद्धतिमै जानुपर्छ । अझ कतिपय कडाखालका मनोरोगीलाई दीर्घकालीन औषधि पनि खानुपर्ने हुन्छ,’ उनी भन्छिन्, ‘त्यसैले यो समस्यालाई ठूलो रूपमा नहेरी सन्चो हुन्छ, सामान्य समस्या हो, यसलाई भोग्नुपर्छ भन्ने आत्मबलका साथ आफन्त साथीभाइ जुट्नुपर्छ । यस्तो समस्या भएका व्यक्तिले पनि अब निको हुँदैन, म सकिएँ भनेर सोच्नु हुँदैन । राम्रो कुराहरू मात्रै सोच्नुपर्छ । नजिकका आफन्त साथीभाइहरूले पनि यस्तो अवस्थामा उसको मनको कुरा सबैभन्दा धेरै सुनिदिनुपर्छ ।’

प्रतिक्रिया