सीईओ रेग्मी जाउँ रक्सी खान भन्छ : मन्त्री आले

नेपालखोज २०७८ पुष १६ गते १३:१९

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मीले आफ्नो इमान खरिद गर्न खोजेको आरोप लगाएका छन् । आज पर्यटन बोर्डको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री आलेले हाल छानबिनमा रेहेका सीईओ रेग्मीबाट संस्था चल्न नसक्ने बताए ।

उनले लण्डनको एक कार्यक्रममा जाँदा आफूले रक्सी नखाएको तर रेग्मीले अफर गरेको बताएका छन् । उनले रेग्मीलाई साँढे भन्दै चारवटा टोयटाका गाडी बेचेर आफ्नो इमान किन्न खोजेको बताए । उनले भने,‘सबैले स्याम्पेन खाइरहेका छन् । म नखाने मान्छे साइडमा बसे । हाम्रो साँढेले पनि भटाभट मगाइरहेको छ । आफ्नै आँखाले देखिरहेको छु । मलाई पनि खा भन्छ । पहिलाको मन्त्री जस्तो ठान्या होला प्रेम आलेलाई ।’

उनले लण्डन जाँदा ८० लाख रुपैयाँ खर्च भयो भनेर रेग्मीले बिल पेस गरेकोमा आपत्ति जनाए । उनले भने,‘मैले सुन्दैछु लण्डन जाँदा बोर्डको ८० लाख खर्च भयो भनेर बिल पेस भएको छ रे । त्यहाँ खानसमेत मैले पकेटबाट व्यहोरेको छु । बस्न दूतावासमा बसेका छौं । होटल र खानामा एक रूपैयाँ खर्च भएका छैन । ८० लाख बिल आयो भन्नुभएको छ, ८० लाख कसरी आयो ? मेरो टिकट मन्त्रालयले व्यहोरेको छ । छानविन होस् । छानबिन गर्नुस् र कानुनी दायरमा ल्याउनुस् । त्यो धन्दा अब चल्नेवाला छैन ।’

प्रतिक्रिया